काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुन बाँकी सबै जिल्लामा निर्वाचन अधिकृत तोकिएका छन् ।
क्रियाशील सदस्यता विवादका कारण अधिवेशन हुन नसकेका १३ जिल्ला रहेका छन् ।
२ नम्बर प्रदेशका ८ जिल्लासहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा वडा अधिवेशन हुन बाँकी छ । निर्वाचन समितिले कैलालीमा टेकप्रसाद सुवेदीलाई मतदान अधिकृत तोकिसकेको थियो ।
निर्वाचन समिति सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले भने, ‘बाँकी सबै जिल्लामा समितिले निर्वाचन अधिकृत खटाएको छ । उहाँहरू २२ गते तोकिएको जिल्लामा जानुहुन्छ ।’ निर्वाचन समितिले बुधवार साँझ मतदान अधिकृतको नाम टुंगो लगाएको छ ।
समितिका अनुसार सप्तरीमा डा. रुद्र शर्मा, सिराहामा सन्जीव लामा, धनुषामा अरुण ज्ञवाली, महोत्तरीमा ईन्द्र अधिकारी, सर्लाहीमा विनोद कार्की, रौतहटमा दीपकराज गिरी, पर्सामा नरेन्द्र केसी र बारामा ज्ञानेन्द्रपसाद अधिकारीलाई निर्वाचन अधिकृत बनाएर पठाइएको छ ।
बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमन कुमार केसी र डोल्पामा कुमारराज श्रेष्ठलाई निर्वाचन अधिकृत तोकिएको जनाइएको छ ।
निर्वाचन समितिले वडा अधिवेशन हुन बाँकी जिल्लामा कात्तिक २७ गतेका लागि मिति तोकेको छ । परिमार्जित कार्यतालिका अनुसार पालिका अधिवेशन कात्तिक ३० गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन मंसिर २ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर १० गते हुने कार्यतालिका रहेको छ ।
कांग्रेसमा २१ हिमाली जिल्लामध्ये १३ जिल्लामा जिल्ला अधिवेशन भइसकेको छ । निर्वाचन समितिका अनुसार हिमाली १३ जिल्लासहित ६४ जिल्लामा पालिका अधिवेशन सम्पन्न भएका छन् ।
कांग्रेसले पाँचौ पटक महाधिवेशन कार्यतालिका परिमार्जन गर्दै १४औं महाधिवेशन मंसिर २४–२७ गतेसम्म काठमाडौंमा गर्ने तय गरेको छ । प्रदेश अधिवेशन मंसिर १६–१७ गते हुने कार्यतालिका रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।