काठमाडौं – नेपाली कांग्रेसले आज मंगलबार नयाँ मुख्यमन्त्री पाउने भएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएपछि आज कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्न लागेका छन् ।
कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नयाँ मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरिसकेका छन् । साँझ साढे ७ बजेसम्म दाबी पेश गर्न समय दिइएको छ ।
प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने सदस्यलाई आज मंगलबार साँझ साढे ७ बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेश प्रमुख कलौनीले आह्वान गरेका छन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ उपधारा १(क) बमोजिम प्रदेश प्रमुखसमक्ष सोमवार साँझ साढे ७ बजे राजीनामा दिएका हुन् । प्रदेश प्रमुख कलौनीले सोमवार नै शाहीको राजीनामा स्वीकृत गरी दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई २४ घण्टाको समयसीमा दिएका छन् ।
विक्रम संवत् २०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले गत बैशाखमा विश्वासको मत लिने क्रममा नेपाली कांग्रेससँग भएको सत्ता समीकरण सम्बन्धी सहमति कार्यान्वयन गर्न राजीनामा दिएको जनाइएको छ ।
नेकपा माओवादी केन्द्र, कांगे्रस र नेकपा एकीकृत समाजवादीबीच भएको सहमति अनुसार कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । कर्णाली प्रदेश सभामा माओवादी केन्द्रका १२, कांगे्रसका ६ र एकीकृत समाजवादीका ३ सांसद रहेका छन् ।
कर्णालीमा नयाँ मुख्यमन्त्री पाएसँगै कांग्रेसले संघ र २ प्रदेशमा सरकारको नेतृत्व पाएको छ । यसअघि संघमा प्रधानमन्त्री शेरबहादुर देउवा र गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकार छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।