काठमाडौं – चुनावका बेला कमजोर प्रदर्शन गरेको ठानिएको नेपाली कांग्रेस एकपछि अर्काे सरकार बनाउन सफल भइरहेको छ ।
संघ सरकारमा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको बेला प्रदेशमा समेत कांग्रेस सरकारमा सहभागी भइरहेको छ ।
अब बागमती प्रदेशमा समेत नेकपा एमालेको सरकारलाई हटाउँदै कांग्रेसको सहभागितामा सरकार बन्दैछ ।
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि अब कांग्रेस सहितको गठबन्धनले सरकार बनाउने भएको छ । प्रदेश प्रमुखको कार्यालयले दाबी पेश गर्न गरेको आह्वान अनुसार आजै बुधबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभामा दुई वा दुईभन्दा बढी दलहरूको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका हुन् ।
आज बुधबार साँझ गठबन्धनको तर्फबाट राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्न लागिएको माओवादी केन्द्रका सांसद युवराज दुलालले बताएका छन् ।
उनले भने, ‘गठबन्धनको तर्फबाट राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउन दाबी पेश गर्न लागेका छौं । ५ बजे प्रदेश प्रमुखलाई भेट्ने कार्यक्रम बनेको छ ।’
बागमती प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत रहेको छैन । हाल बनेको गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपाल रहेका छन् । गठबन्धनमा ५९ सांसद रहेका छन् । गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई नयाँ मुख्यमन्त्री बनाउन लागेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।