काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले नेपाली फूटबल टीमलाई बधाई दिएका छन् ।
आज आईतबार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले साफ च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेकोमा बधाई दिएका हुन् ।
अध्यक्ष थापाले लेखेका छन्, ‘दोस्रो स्थान हासिल गर्न सफल टीम नेपाललाई हार्दिक बधाई ! हामी गौरवान्वित छौं ।’
साफ च्याम्पियनसिप फूटबलमा फाइनलको यात्रा तय गरेको नेपाल भारतसँग पराजित हुँदै दोस्रो भएको छ । माल्दिभ्समा हिजो शनिबार सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग ३–० गोलअन्तरले पराजित भएपछि उपविजेता बनेको हो ।
जीतसँगै भारतले आठौंपटक साफ च्याम्पियनसिपको उपाधि जित्ने कीर्तिमान बनाएको छ । फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा आक्रामक शुरूआत गरेको भारतले नेपालविरुद्ध ३ गोल गरेको थियो ।
कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुल समादले १–१ गोल गर्दै भारतलाई जिताएका जनाइएको छ ।
भारतले खेलको ४९औं मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको हो भने खेलको ५० औं मिनेटमा सुरेशले गोल गर्दै भारतलाई २–० गोलको अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा साहलले गोल गर्दै भारतलाई ३–० गोलले जिताएका हुन् ।
भारतसँगको हारसँगै नेपाल पहिलोपटक साफमा उपविजेता बन्न सफल भएको हो । ५ राष्ट्र सहभागी प्रतियोगितामा भारत लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको हो । नेपालले राउन्ड रोबिन लिगको दोस्रो स्थानमा रहेर फाइनल खेलेको थियो । नेपाल साफमा पहिलोपटक उपविजेता बनेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।