काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जिल्लामा भइरहेका अधिवेशनमा महिला, युवायुवतीको आकर्षण देखिएको छ ।
मतदानबाट निर्वाचित पदमा समेत युवा विजयी भइरहेका छन् । सुदूरपश्चिमको बाजुरामा २२ वर्षीया रिता शाही महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको भोलिपल्ट बझाङमा २२ वर्षीया सिर्जना स्नेही समेत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् ।
यससँगै कांग्रेस महाधिवेशनमा अर्की युवा नेत्रीले रेकर्ड बनाएकी छन् । बझाङको आठौं जिल्ला अधिवेशनबाट जयपृथ्वी नगरपालिका–१० की २२ वर्षीया सिर्जना स्नेही जिल्लाकै कान्छी महाधिवेशन प्रतिनिधि बनेकी छन् ।
कञ्चनपुरको बैजनाथ इन्जिनीयरिङ क्याम्पसबाट सबइन्जिनियर पास गरेकी स्नेही पूर्व युवा तथा खेलकुद राज्यमन्त्री नरेशबहादुर सिंह र पूर्व जिल्ला सभापति पृथ्वीबहादुर सिंहको संयुक्त प्यानलबाट उम्मेदवार बनेकी थिइन् । सिर्जना दलित महिलाको कोटाबाट महाधिवेशन प्रतिनिधि बनेकी छन् ।
शनिवार सम्पन्न भएको मतगणनाको परिणामअनुसार स्नेहीले ६८७ मत पाएकी छन् । उनकी निकटम प्रतिद्वन्द्वी निर्मला बिसीले ४४५ मत ल्याएकी छन् ।
सिर्जनाका बुवा पदमबहादुर स्नेही पनि कांग्रेस पृष्ठभूमिकै थिए । तर उनी पटक–पटक महाधिवेशन प्रतिनिधिमा उम्मेदवार हुँदा पनि पराजित हुने गर्थे । पार्टी महाधिवेशन प्रतिनिधि हुन नपाउँदै बुवाको निधन भएको स्मरण गर्दै सिर्जनाले बुवाको सपना आफूले पूरा गरेको बताइन् ।
उनले भनिन्, ‘३ महिनाअघि बुवाले अन्तिम सास लिइरहँदा महाधिवेशन प्रतिनिधि बन्ने इच्छा अपूरो भएको बताउनुभयो । मैले यो सपना म पूरा गर्छु भनेर वाचा गरेको थिएँ । बुबाकै सपना पूरा गर्न उम्मेदवार बनेकी हुँ, चुनाव जितेर बुवाको सपना पूरा गरें जस्तो लाग्दैछ ।’
उनका बुवा पदमबहादुर स्नेही राष्ट्रिय दलित आयोगका सदस्य र नेपाली कांग्रेस निकट दलित संघ बझाङका पूर्व सभापति पनि रहेका थिए ।
यसअघि, बाजुरा जिल्लाको अधिवेशनबाट कान्छी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा २२ वर्षीया रिता शाहीले चुनाव जितेकी थिइन् । सामाजिक अभियन्ताको रूपमा क्रियाशील शाहीले अत्यधिक ६०२ मतसहित विजयी भएकी हुन् । उनी एकातिर सबैभन्दा कान्छी छिन् भने अर्काेतिर जिल्लामा सर्वाधिक मत ल्याउने कीर्तिमान पनि उनकै नाममा लेखिएको छ । उनले एकै चुनावमा २ कीर्तिमान बनाएकी छन् ।
कोरोना भाइरस संक्रमणको महामारीका बेला बाजुरा जिल्लामा आएको विनाशकारी बाढीपहिरो पीडितका लागि देश तथा विदेशबाट सहयोग जुटाउँदै सहारा बनेकी शाही सक्रिय राजनीतिमा पनि होमिएकी छन् ।
नेत्री शाहीले सिन्धुपाल्चोकको हेलम्बुमा आएको बाढीपहिरोको क्षतिका बेला समेत राहत वितरण गरेकी थिइन् भने उनले सुर्खेतमा बस्ने राउते समुदायका युवतीमाथि दुव्र्यहार हुँदा समेत न्यायका लागि खबरदारी गरेकी थिइन् ।
नर्सिङ बढेकी शाही पछिल्लो समय राजनीतिमार्फत गाउँ, समाज र देश बदल्न जरुरी रहेको भन्दै सक्रिय भएकी छन् । यसरी कांग्रेसमा युवा नेतृत्वले प्रभाव बढाउँदै गएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।