काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिबार विभिन्न जिल्लामा पालिका अधिवेशन भएका छन्, जसमा निर्वाचन रोचक भएका खबर पनि आइरहेका छन् ।
स्याङ्जाको भिरकोट नगरपालिकामा भएको चुनावमा यामप्रसाद अधिकारी १ मतको विजयी भएर भाग्यमानी बनेका छन् । नगर सभापति पदमा यामप्रसाद अधिकारीले प्रतिस्पर्धी दिपेन्द्र केसीलाई १ मतले हराएका छन् ।
अधिवेशनमा अधिकारीले १०० मत ल्याएर विजयी हुँदा केसीले ९९ मत मात्रै ल्याएका थिए । अधिकारी नगरपालिकाको ५ नम्बर वडाका वडाध्यक्ष समेत रहेका छन्, केसी १ नम्बर वडाका वडाध्यक्ष रहेका छन् ।
पालिकाको उपसभापतिमा जगदीशप्रसाद कोइराला र विष्णुमाया काफ्ले, सचिवमा ताराप्रसाद अर्याल र नन्दलाल खनाल, सहसचिवमा प्रसुन मगर र सुशील खाँण निर्वाचित भएका छन् ।
जिल्लामा रहेका ५ नगरपालिकामध्ये गल्याङमा श्यामप्रसाद बास्तोला सभापति बनेका छन् । प्रतिस्पर्धी हरिलाल खनाललाई हराउँदै १८२ मत ल्याएर बास्तोला सभापतिमा निर्वाचित भएका हुन् । खनालले ६७ मत मात्रै ल्याएका थिए ।
पुतलीबजारमा सुरजकुमार अधिकारी विजयी भएका छन् । चापकोट नगरपालिकामा सर्वसम्मत रूपमा विक्रम सारु सभापति चयन भएका छन् ।
फेदिखोला गाउँपालिकामा महेन्द्र थापा र आँधिखोला गाउँपालिकामा नरेन्द्र पौडेल सर्वसम्मत रूपमा सभापति बनेका छन् । हरिनास गाउँपालिकामा टोपबहादुर भुजेल सभापतिमा बनेका छन् भने बिरुवा गाउँपालिकामा डोलराज पोखरेल सभापतिमा निर्वाचित भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।