काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले महाधिवेशन कार्यतालिका फेरि संशोधन गर्ने भएको छ ।
बुधवार बसेको कांग्रेस पदाधिकारी बैठकले १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी भएपछि कार्यतालिकामा फेरि संशोधन गर्ने सहमति गरेको छ ।
सहमतिअनुसार अब १३ जिल्लाको वडा अधिवेशन असोज ९ गतेपछि हुनेछ । ती जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद टुंगाएर मात्रै वडा अधिवेशन गर्ने सहमति जुटेको छ ।
१३ जिल्लामा पालिका तह अधिवेशन पनि दशैंअघि मात्रै हुने छन् तर वडा अधिवेशन सम्पन्न भइसकेका ६४ जिल्लामा असोज ९ गतेमै पालिका अधिवेशन हुनेछ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले १३ जिल्लामा बाहेक वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा असोज ९ गतेमा नै पालिका अधिवेशन गर्ने र बाँकी १३ जिल्लामा दशैंअघि पालिका तहका अधिवेशन सम्पन्न गर्ने सहमति भएको बताए ।
कांग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंहले दशैंअघि ७७ जिल्लामा नै पालिका अधिवेशन गर्ने सहमति भएको बताएका छन् ।
उनका अनुसार त्यसपछिका घोषित कार्यतालिका परिमार्जन हुने जनाइएको छ । निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले समितिले वडा अधिवेशन गर्न बाँकी १३ जिल्लामा मात्रै अधिवेशन मिति सार्न सुझाएको बताए । उनले वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लामा बाँकी तहका अधिवेशन गर्न निर्वाचन समिति तयार रहेको जानकारी दिए ।
यसअघि पछिल्लो पटक गत असोज ५ गतेका लागि वडा अधिवेशन हुन बाँकी २० जिल्लामा मिति तोकिएको थियो तर यसबीच ७ जिल्लाको मात्रै क्रियाशील सदस्यता सार्वजनिक भएपछि ती जिल्लामा भने अधिवेशन भएको छ । बाँकी १३ जिल्लामा वडा अधिवेशन बाँकी छ । ती जिल्लाका क्रियाशील सदस्यता नामावली अझै सार्वजनिक गरिएको छैन ।
कांग्रेसले यसअघि पहिलो चरणमा ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको छ । कांग्रेस वडा अधिवेशन गत भदौ १८ गतेमा तोकेको थियो तर सो मितिमा प्रक्रिया मात्रै सुरू भएको थियो । त्यसपछि ७ जिल्लामा असोज ५ गते अधिवेशन भएको छ ।
अब २ नम्बर प्रदेशका ८ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, बाँके र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण कांग्रेसले पार्टीको वेबसाइटमा सार्वजनिक गर्न बाँकी छ । कांग्रेसले यसअघि महाधिवेशनअन्तर्गत गाउँ/नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गतेका लागि तय गरेको छ ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १०–१२ गते र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९–१३ गतेसम्म तय गरेको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।