काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले आज देशभरका ७ जिल्लामा वडा अधिवेशन गर्ने भएको छ ।
आज मंगलबार हुने वडा अधिवेशनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुने भएका छन् ।
भदौ १८ गते देशभरका ६ हजार ७४३ वडामा एकैदिन अधिवेशन गर्ने भनिए पनि ५७ जिल्लामा मात्रै अधिवेशन भएको हो ।
बाँकी २० जिल्लामा आज मंगलबार अधिवेशन गर्ने भनिए पनि तीमध्ये १३ जिल्लामा आज अधिवेशन हुन सक्ने अवस्था छैन ।
क्रियाशील सदस्यताको सूची नै सार्वजनिक नहुँदा २ नम्बर प्रदेशका ८ सहित १३ जिल्लामा वडा अधिवेशन अन्योलमा छ ।
क्रियाशील सदस्यता सम्बन्धी विवाद पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले मिलाएपनि कार्यान्वयनमा आउन सकेको छैन ।
क्रियाशील सदस्यताको सूची पार्टी वेबसाइटमा नराख्दा २ नम्बर प्रदेशका ८ जिल्ला, रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतमा वडा अधिवेशन अन्योलमा रहेको छ ।
आज काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा अधिवेशन हुने कांग्रेसले जानकारी दिएको छ ।
मोरङमा क्रियाशील सदस्यता विवाद भएपछि एक पक्ष अदालतसम्म पुगेको छ ।
सहमहामन्त्री सुनिलबहादुर थापा पक्षले अधिवेशन रोक्न माग गर्दै रिट दिएको छ । अधिवेशन सम्बन्धी सबै प्रक्रिया रोक्न माग गर्दै थापा पक्षले उच्च अदालत मोरङमा सोमवार रिट दायर गरेको छ ।
सहमहामन्त्री थापा राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका हुन् । राप्रपा छाडेर थापासँगै कांग्रेसमा आएकाहरुले क्रियाशील सदस्यता नपाएको गुनासो हुँदै आएको छ ।
समयमै वडा अधिवेशन हुन नसक्दा कांग्रेसले असोज ९ गते गर्ने भनेको गाउँ/नगर अधिवेशन प्रभावित हुने देखिएको छ । वडा सभापति र क्षेत्रीय प्रतिनिधि गाउँ/नगर अधिवेशनका मतदाता हुने गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।