काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद मिलाउन बाँकी रहँदा १३ जिल्लामा वडा अधिवेशनको कार्यतालिका फेरि परिवर्तन गर्ने भएको छ ।
कांग्रेसले पहिलो चरणमा ५७ जिल्लामा वडा अधिवेशन गरिसकेको छ । पछिल्लोपटक परिमार्जन गरिएको तालिकाअनुसार बाँकी २० जिल्लामा असोज ५ गतेका लागि अधिवेशन तोकिएको थियो तर सो मितिमा काठमाडौंसहित ७ जिल्लामा मात्रै अधिवेशन हुने भएको छ ।
बाँकी जिल्लामा त्यसपछि मात्रै वडा अधिवेशन गर्ने कांग्रेसको तयारी रहेको छ ।
‘भदौ ५ गते ७ जिल्लामा वडा अधिवेशन हुन्छ, १३ जिल्लामा त्यसपछि हुन्छ, बाँकी हुने जिल्लामा निर्वाचन समितिले नै वडा अधिवेशनको मिति तय गर्छ,’ कांग्रेसका एक पदाधिकारीले भने ।
निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले १३ जिल्लामा भदौ ५ गतेपछि मात्रै वडा अधिवेशन हुने जानकारी दिए । ‘निर्वाचन समितिले १३ जिल्लाको सदस्यता पाएको छैन, आज वा भोलि आउँदा पनि ती जिल्लामा अब भदौ ५ गतेपछि मात्रै अधिवेशन गर्न सकिन्छ, सदस्यता पाएपछि सार्वजनिक गर्छौं र निर्वाचन अधिकृत तोक्छौं,’ निर्वाचन समितिका संयोजक यादवले भनेका छन् ।
कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंग्याउन नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रमेश लेखक र डा. मिनेन्द्र रिजाल सदस्य रहेको कार्यदल बनाइएको थियो । कार्यदलले आईतवार सबै जिल्लाको सदस्यता विवाद समाधान गरेर कागजात पार्टी सभापति शेरबहादुर देउवासहित महामन्त्री डा. शशांक कोइराला र पूर्णबहादुर खड्कालाई बुझाएको छ ।
कार्यदलका सदस्य रिजालले कार्यदलले गर्ने काम सकेर सभापति र महामन्त्रीद्वयलाई बुझाएको र अब कार्यदलले सकेको कामलाई कार्यान्वयनमा लैजान मात्रै बाँकी रहेको बताएका छन् ।
‘कार्यदलले गर्ने काम सकेर हामीले सभापति र महामन्त्रीद्वयलाई कागजात बुझायौं, अब कार्यदलले सकेको कामलाई कार्यान्वयनमा लैजान मात्रै बाँकी छ,’ रिजालले भने ।
अब बाँकी जिल्लाको क्रियाशील सदस्यताको नामावलीलाई सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेर केन्द्रीय निर्वाचन समितिलाई दिएपछि समितिले पार्टीको वेबसाइटमार्फत् नामावली सार्वजनिक गर्नेछ ।
कांग्रेसले अझै पनि १३ जिल्लाअन्तर्गत २ नम्बर प्रदेशका ८ जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छैन ।
गत बुधवार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो ।
कांग्रेसले असोज ९ गते गाउँ/नगर अधिवेशन तोकेको छ । वडा सभापति र क्षेत्रीय प्रतिनिधि गाउँ/नगर अधिवेशनका मतदाता हुन्छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।