काठमाडौं – अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले सामाजिक सञ्जालमा आएका अतिरञ्जित तथा असत्य सन्देशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
भदौ २३ गते ट्वीटरमार्फत एमसीए–नेपाल विकास समितिका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टको नक्कली हस्ताक्षर प्रयोग गरी सार्वजनिक भएको सामग्री भ्रामक भएको एमसीए–नेपालले जनाएको छ ।
सामग्रीमा एमसीए–नेपाल, एमसीसी र अमेरिकी राजदूतावासका अधिकारीबीच भएको भर्चुअल बैठकमा कम्प्याक्ट अनुमोदनका पक्षमा प्रचार अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइएको उल्लेख गरिएको थियो ।
त्यसका लागि कतिपय अखबार तथा टीभीलाई परिचालन गर्ने निर्णय भएको दाबीसहित नेपाल सरकार, एमसीए–नेपाल र एमसीसीको छापको पनि दुरुपयोग भएको एमसीए–नेपालले जनाएको छ ।
सरकारले एमसीसीलाई सोधेका प्रश्नको जवाफ प्राप्त हुनुभन्दा पहिला ती सामग्री सामाजिक सञ्जालमा राखिएको थियो । एमसीए–नेपालले सामाजिक सञ्जालमार्फत नै खण्डन गरिसक्दा पनि भ्रामक सामग्री अझै सम्प्रेषण भइरहेको जनाएको छ ।
एमसीएले ती सामग्रीमा कुनै सत्यता नभएको जनाएको छ । एमसीएले भ्रामक सामग्रीमा प्रयोग गरिएको जस्तो लेटरहेड कहिल्यै प्रयोग नगरेको र दस्तावेजमा प्रयोग गरिएको कार्यकारी निर्देशक बिष्टको हस्ताक्षर पनि डिजिटल प्रविधिबाट नक्कल उतार गरिएको भन्दै सन्देश सम्प्रेषण गर्ने व्यक्तिविरुद्ध कानूनी कारबाही अगाडि बढाउन पहल गरिसकेको जनाएको छ ।
एमसीएले सामाजिक सञ्जालको दुरुपयोग गरी जनसाधारणबीच भ्रम फैलाउने खालका असत्य जानकारी सम्प्रेषण गर्ने प्रवृत्तिको गम्भीर भत्र्सना गर्दै त्यस्ता सूचनाप्रति सजग रहन आम नागरिकसँग आग्रह गरेको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।