काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएका छन् ।
संयोजक यादवले पार्टी केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाएको जानकारी दिए ।
उनले भने, ‘मैले राजीनामा केन्द्रीय कार्यालयमा बुझाइसकेको छु ।’
भदौ १८ गते कांग्रेसले देशका ६ हजार ७४३ वडामा एकैदिन वडा अधिवेशन गर्ने भने पनि ५६ जिल्लाका विभिन्न वडामा मात्रै अधिवेशन भएको छ । क्रियाशील सदस्यता विवादका कारण सबैतिर अधिवेशन हुन सकेको छैन ।
विवादकै कारण बाँकी २१ जिल्लामा अहिलेसम्म अधिवेशन सुरु भएको छैन । बाँकी जिल्लाका क्रियाशील सदस्यको नाम सभापति शेरबहादुर देउवाले निर्वाचन समितिलाई नबुझाएका जनाइएको छ । सभापतिले नाम दिएपछि निर्वाचन समितिले पार्टी वेबसाइटबाट सार्वजनिक गर्ने प्रचलन रहेको छ ।
सभापति देउवाकै गृहजिल्ला डडेल्धुरामा हालसम्म वडा अधिवेशन हुन सकेको छैन । क्रियाशील सदस्यतामा देखिएको विवादले गर्दा भदौ १८ गतेबाट २२ हुँदै २५ गतेका लागि अधिवेशन सरे पनि जिल्ला सभापति कर्णबहादुर मल्ल लगायतले वडा अधिवेशन स्थगित गर्न माग गर्दै आएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिले बनाएको महाधिवेशन कार्यतालिका अनुसार काम नहुने र विवाद देखिएपछि निर्वाचन समितिका संयोजक यादवले राजीनामा दिएका हुन् । यादवको राजीनामा स्वीकृत भइसकेको भने छैन । संयोजक यादवले बिहीवार नै राजीनामा दिएका जनाइएको छ । गाउँपालिका र नगरपालिकामा भदौ २७ गतेमा अधिवेशन गर्ने कार्यतालिका रहेको छ ।
निर्वाचन समिति संयोजकको राजीनामा र २१ जिल्लामा क्रियाशील सदस्यताबारे अझै विवाद रहेकाले महाधिवेशन कार्यतालिका प्रभावित हुने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।