काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका जारी वडा अधिवेशनमा युवा नेतृत्वहरू निर्वाचित भएको सुखद खबर आइरहेका बेला सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ की २१ वर्षीया पूजा फुयाँल चुनावबाटै क्षेत्रीय प्रतिनिधि पदमा निर्वाचित भएकी छन् ।
वडा अधिवेशनमा खसेका २६३ मतमध्ये पूजा सबैभन्दा धेरै अर्थात् २०२ मत प्राप्त गरेर निर्वाचित भएकी नेपाली कांग्रेस सोलुखुम्बुले जानकारी दिएको छ ।
विद्यालयमा ९ कक्षामै पढ्दा हिमाल दर्शन मावि नेचाको नेविसंघ इकाइ सभापति बनेकी पूजा उच्च शिक्षा अध्ययनको क्रममा २०७३ सालमा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियू सदस्यमा निर्वाचित भएकी थिइन् ।
पूजा हाल नेविसंघ सोलुको कोषाध्यक्ष र जीपी कोइराला फाउन्डेसनको जिल्ला सहसचिव रहेकी छन् ।
लगातार पूर्णकालीन राजनीतिमा लागेकी पूजा वडा अधिवेशनबाट धेरै मत ल्याएर जित्दा निकै दंग परेकी छन् । उनले भनिन्, ‘मैले सहमतिमा मलाई एउटा क्षेत्रीय प्रतिनिधिमा पठाउनुस् भनेर सबै नेता तथा पार्टीका अगुवालाई भने तर उहाँहरुले मलाई अन्य पदमा राख्ने आश्वासन दिएर नपठाउने कुरा गर्नुभयो तर चुनावमा गएपछि मलाई ९० प्रतिशत क्रियाशील सदस्यले माया गरेर जिताउनुभयो ।’
क्षेत्रीय प्रतिनिधि जितेसँगै राजनीतिमा युवाहरुको भविष्यप्रति आशा जागेको उनले बताइन् । उनले भनिन्, ‘कांग्रेसमा ५० कटेकालाई युवा नेता मान्नुपर्ने विवशतालाई अब हाम्रो पुस्ताले तोड्नुपर्छ ।’
पूजाका हजुरबुवा लीलाराज फुयाँल नेपाली कांग्रेसको तर्फबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए । ५२ वटा वडा रहेको सोलुखुम्बुमा २ वटा वडामा मात्र चुनावी प्रक्रियाबाट नेतृत्व चयन भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।