काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी निकै बढ्दै गएको छ । वडा तहको अधिवेशनको रौनकसँगै केन्द्रमा पदाधिकारी घोषणा गर्ने क्रम बढ्दो छ ।
यसपटकको कांग्रेस महाधिवेशनमा सबैभन्दा रोचक भिडन्त महामन्त्रीमा हुने संकेत देखिएको छ । कांग्रेसमा दुईजना महामन्त्री चुनावमार्फत चयन हुने भएका छन् । यसपटक पुराना पुस्ताका नभई नयाँ पुस्ताका नेता महामन्त्रीमा आउने निश्चित जस्तै भएको छ ।
कांग्रेस युवा नेता गगन थापाले महामन्त्रीको उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनले संस्थापनइतर पक्षबाट महामन्त्री लड्ने संकेत गरेका हुन् ।
यसैगरी, युवा पुस्ताका चर्चित नेता विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेद्वारी दिने भएका छन्। पार्टी प्रवक्तासमेत रहेका शर्माले भदौ २४ गते बीपी स्मृति दिवसका अवसर पारेर महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दैछन्।
बीपी स्मृति दिवसका दिन बीपीलाई राखिएको सुन्दरीजल पुगेर आफूले महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्ने उनको तयारी छ । थापा र शर्मा कुन समूहबाट उम्मेदवार हुने प्रष्ट नभए पनि दुईजना महामन्त्रीका लागि दुवै बलिया उम्मेदवार हुन्।
सभापति शेरबहादुर देउवा पक्षबाट महामन्त्रीका आधा दर्जनभन्दा बढी आकांक्षी देखिएका छन्। डा.प्रकाशशरण महत, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउन, रमेश लेखक, मीन विश्वकर्मा, महामन्त्रीका आकांक्षी हुन्।
संस्थापन इतर रामचन्द्र पौडेल पक्षबाट महामन्त्रीका आकांक्षीमा मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडललगायत छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।