काठमाडौं - कांगेसमा पहिलोपटक १९ वर्षीया किशोरी वडा सभापति चयन भएकी छन् । यतिबेला उनको सर्वत्र चर्चा र प्रशंसा भएको छ ।
अब कांग्रेसमा युवा पुस्ताले हस्तक्षेप गर्ने सबैको आशा छ । शुक्रबार दैलेख दुल्लु नगरपालिका–३ मा भएको वडा अधिवेशनमा १९ वर्षीया स्वस्तिका महत सर्वसम्मत वडा सभापति चयन भएकी हुन् ।
कांग्रेस दैलेखका निर्वाचन अधिकृत विवश बस्नेतले महत सर्वसम्मत विजयी भएको जानकारी दिए । सहायक निर्वाचन अधिकृत तथा नेपाल शिक्षक संघ दैलेखका अध्यक्ष कृष्णबहादुर थापाले शुक्रबारको निर्वाचनका क्रममा तीन सभापतिका उम्मेदवार रहेकोमा महतलाई सर्वसम्मत सभापति बनाउने निर्णय भएको जानकारी दिए ।
स्वस्तिका कांग्रेस दैलेखका उपसभापति भूपेन्द्र महतकी छोरी हुन् । भुपेन्द्रको दुई वर्षअघि निधन भएको थियो ।
वडा सभापतिमा निर्वाचित भएपछि स्वस्तिकाले बुबाको सपना पूरा गर्न आफू यो उमेरमै राजनीतिमा होमिएकी बताइन् । उनले राजनीतिलाई अघि बढाउन आगामी स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा चुनाव लड्ने बताइन् ।
‘बुवा पार्टी उपसभापति हुनुहुन्थ्यो, राजनीतिबाटै समाज र देशको परिवर्तन गर्नुपर्दछ भन्नुहुन्थ्यो । बुवाको राजनीति जीवन सक्रिय थियो, तर उहाँको सपना पूरा हुन सकेन, बुबाको सपना पूरा गर्न स्वास्थ्यकर्मीको बाटो छाडेर राजनीतिमा होमिएकी हुँ,’ उनले भनिन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।