काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि सुरु भएको छ । कांग्रेसले भदौ १८ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।
जसअनुसार क्रियाशील सदस्यता टुंगो लागिसकेका जिल्लामा आजदेखि वडा अधिवेशन हुँदैछ । निर्वाचन समितिका अनुसार आज ४५ जिल्लामा अधिवेशन हुने छ । २१ जिल्लाको सदस्यता विवाद टुंगो लाग्न सकेको छैन ।
बाँकी जिल्लाका वडामा भदौ २६ भन्दा अगाडि नै अधिवेशन गरिसक्नुपर्ने छ । भदौ २७ गते गाउँ–नगर अधिवेशन गर्ने कार्यतालिका छ । वडा अधिवेशनमा क्रियाशील सदस्य मतदान गर्छन् । वडा अधिवेशनबाट वडा कमिटी र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।
क्षेत्रीय प्रतिनिधिले पालिकाको नेतृत्व चयन गर्नेछन् । केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन पनि क्षेत्रीय प्रतिनिधिबाटै हुने छ । पार्टीको वडा अधिवेशन सुरु भएको अवसरमा कांग्रेस सभापित शेरबहादुर देउवाले शुभकामना व्यक्त गरेका छन् । सामाजिक दूरी कामय गरी अधिवेशनमा सहभागी हुन उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
निर्वाचन लोकतन्त्रको सुन्दर अभ्यास भएकाले उनले कांग्रेसलाई पहिलो पार्टी बनाउन निर्देशन पनि दिएका छन् । कांग्रेसका केन्द्रीय सदस्य ड.शेखर कोइरालाले कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त १ नम्बरको पार्टी बनाउने जिम्मेवारी रहेको जनाएका छन् ।
शुक्रवार बिहान अपिल जारी गर्दै नेता कोइरालाले पार्टीभित्र रहेको गुट र विभाजनको स्थायी चरित्र हटाउनुपर्ने बताए । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचनको महान लोकतान्त्रिक प्रक्रियामार्फत संशोधित नयाँ विधानको प्रबन्धबमोजिम पार्टीका सबै तहको संरचनामा देशको जनसंख्याको बनोटअनुसारको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने पहिलो पार्टी बन्ने बताएका छन् ।
कांग्रेस नेता प्रकाशमान सिंहले लोकतान्त्रिक विधि–प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट वडा अधिवेशनले सक्षम र सबल नेतृत्व चयन गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
‘संविधानको रक्षा, संघीयता, समावेशीता, समानुपातिक सहभागिता, युवा प्रतिनिधित्वलाई थप मजबुत बनाउनसक्ने र देशलाई गति दिन सक्ने, समृद्धिको बाटोमा लैजान सक्ने भिजनसहितको नेतृत्व आजको आवश्यक्ता हो । राष्ट्रिय राजनीतिमा दूरगामी प्रभाव राख्ने कांग्रेस महाधिवेशन हाम्रा लागि एउटा उत्सव पनि हो । कांग्रेस बलियो बन्दा लोकतन्त्र बलियो हुन्छ,’ उनले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।