काठमाडौं – नेपाली कांग्रेस एकपछि अर्काे गर्दै सरकारको नेतृत्व गर्दै गइरहेका बेला कांग्रेससामु अर्काे मौका आएको छ ।
कर्णाली प्रदेशमा मुख्यमन्त्री फेरेर नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्ने भएका छन् ।
नेकपा माओवादी केन्द्रका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बैशाखमा विश्वासको मत लिँदा सत्तारुढ गठबन्धनबीच भएको सहमति अनुसार कांग्रेस संसदीय दलका नेता शाही नयाँ मुख्यमन्त्री बन्न लागेका छन् ।
सरकारको नेतृत्वको गरिरहेको नेकपा माओवादी केन्द्र निकट स्रोतका अनुसार अब केही हप्तामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएर कांग्रेसका जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने तयारी भइरहेको जानकारी दिए ।
कांग्रेस र माओवादीबीच गत बैशाखमै कांग्रेसलाई नेतृत्व हस्तान्तरण गर्ने सहमति भइसकेकाले अब कांग्रेसले मुख्यमन्त्री पाउने स्रोतले जनाएको छ ।
नेकपा एमालेसँगको सहमतिमा २०७४ फागुन ३ गते शाही मुख्यमन्त्री नियुक्त भएका थिए । २०७५ जेठमा एमाले र माओवादीबीच एकीकरण भएर नेकपा बनेसँगै उनी बहुमत प्राप्त संसदीय दलको नेताका रुपमा मुख्यमन्त्री बनेका थिए । तर एमाले र माओवादी छुट्टाछुट्टै दल भएपछि बहुमत गुमेको थियो ।
२०७७ चैत २ गते एमालेले मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको १ महिनापछि बैशाख ३ गते कांग्रेससँगै एमालेका ४ सांसदले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए । ‘फ्लोर क्रस’ गरेका ४ सांसदलाई नेकपा एमालेले कारवाही गरेको छ ।
कूल ४० सदस्यीय कर्णाली प्रदेश सभामा हाल ३५ सांसद रहेका छन् । एमालेका ४ सांसद पदमुक्त भएका छन् भने नेकपा विघटन हुँदा एमालेतिर गएका १ सांसदलाई माओवादीले समेत कारवाही गरेको छ ।
नवगठित नेकपा एकीकृत समाजवादीमा ३ सांसद गएपछि अब एमालेमा १३ सांसद मात्रै बाँकी रहेका छन् । माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद रहेका छन् । सरकार गठनका लागि १८ सांसदको समर्थन आवश्यक पर्ने देखिएको छ ।
नेकपा माओवादी केन्द्र र कांग्रेस मिलेर सरकार गठन हुने भएपनि एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादी प्रदेश सरकारमा सहभागी हुने देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।