काठमाडौं – नेकपा एमाले फुटाएर नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई सघाएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा महत्वपूर्ण भागबण्डा पाउने भएका छन् ।
एकीकृत समाजवादी पार्टीलाई प्रतिनिधिसभा उपसभामुख दिने सहमति सत्तारुढ गठबन्धनमा भएको छ । बुधवार निर्वाचन आयोगबाट एमाले विभाजन भएर छुट्टै पार्टी एकीकृत समाजवादी जन्मिसकेको छ ।
उपसभामुख संवैधानिक परिषद्को सदस्य समेत रहने व्यवस्था भएकाले एकीकृत समाजवादीले दाबी गरेको हो । अध्यक्ष नेपालको दाबी सम्बोधन गर्दै सत्तारुढ गठबन्धनले सहमति दिइसकेको छ ।
उपसभामुख एकीकृत समाजवादी पार्टीले पाउने भएसँगै संवैधानिक परिषद्मा संसदका ४ ठूला दलको प्रतिनिधित्व हुने भएको छ ।
संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता, सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख रहने प्रावधान छ ।
संवैधानिक व्यवस्थाअुनसार सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने प्रावधान छ । सभामुखमा नेकपा माओवादी केन्द्रबाट अग्निप्रसाद सापकोटा रहेकाले अब नेकपा एकीकृत समाजवादीले महिला सांसदलाई अगाडि सार्नुपर्ने भएको छ ।
अध्यक्ष नेपालको पार्टीबाट कल्याणी खड्का, पुष्पाकुमारी कर्ण र सरला यादवमध्ये एक जना उपसभामुख बन्ने स्रोतले जनाएको छ ।
नेकपा एमाले परित्याग गरेका उपाध्यक्ष बामदेव गौतमपत्नी तुलसा थापाले उपसभामुख हुन पाउने सम्भावना थियो । तर उनले ढुकमुले पारा देखाउँदै पार्टी विभाजनको निवेदनमा हस्ताक्षर नगरेपछि उनले सनाखत गर्न पाइनन् । जसले गर्दा उनले उपसभामुख पाउने अवसर गुमेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।