काठमाडौं – सत्तारुढ दल नेपाली कांगेसले लामो समयदेखि थाती रहेको क्रियाशील सदस्यता विवादको अन्तिम टुंगो लगाएको छ ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा सोमवार बसेको शीर्ष नेताहरु सम्मिलित बैठकले सहमतिमै क्रियाशील सदस्यताको विवाद किनारा लगाएको छ ।
विवाद समाधान भएसँगै क्रियाशील छानबिनको अन्तिम किनारा लगाउन पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित समितिले सोमवार राति १० बजेतिर सहमतिको प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाएको छ ।
समितिका तर्फबाट नेता सिटौलाले शीर्ष नेताद्वयलाई प्रतिवेदन बुझाएका हुन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले क्रियाशील सदस्यता विवाद समाधान भएपछि पार्टी अब पूर्व निर्धारित कार्यतालिकाअनुसार नै महाधिवेशनमा जुट्ने बताए । उनले क्रियाशील सदस्यताको सबै प्रिन्ट भइसकेकाले समस्या नहुने र थप भएको केही विवरण सचिवालयले मिलाउने बताए ।
उनले मतदाता सामग्री हिमाली र दुर्गम पहाडी जिल्लामा हेलिकप्टरबाट ढुवानी गरिने तयारी रहेको बताए । अब महाधिवेशन हुँदैन कि भन्ने अन्योल समेत समाप्त भएको छ ।
सिटौला संयोजक तथा केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको कार्यदल १ हप्ताको अवधिमा धनुषा, सर्लाही, बारा, सप्तरी, रसुवा र सिन्धुपाल्चोक जिल्लाको थाती रहेको विवादमा सहमति जुटाउन सफल भएपछि क्रियाशील सदस्यताको विवादले निकास पाएको छ ।
गत फागुनदेखि सुरू भएको क्रियाशील सदस्यताको छानविन कार्यले सोमवारबाट अन्तिम रुप लिएको छ । यसअघि केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित कार्यदलले साउन १२ गते क्रियाशील सदस्यताको प्रतिवेदन सभापति देउवालाई हस्तान्तरण गरेको थियो तर सो प्रतिवेदनले केही जिल्लाको विवाद समाधान गर्न बाँकी थियो ।
सभापति देउवालाई प्रतिवेदन बुझाउनुअघि कार्यदलका सदस्य र पार्टीका शीर्ष नेताहरुबीच बुढानिलकण्ठमा लामो छलफल भएको थियो ।
सभापति देउवा, वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्री सिटौला, डा. रिजाल, लेखक लगायतका नेताहरुको बैठकले अन्तिम समयमा सहमति जुटाएको छ ।
अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका व्यक्तिका लागि न्यूनतम मापदण्डका आधारमा क्रियाशील सदस्यता दिइने सहमति नेताहरुले गरेका छन् । क्रियाशील सदस्यताको विवाद मिलेसँगै अब पार्टीले यसअघि तय गरेको गाउँपालिका तथा नगरपालिकाको वडा अधिवेशन निर्धारित समयमै हुने भएको छ ।
महाधिवेशनको कार्यतालिका प्रभावित नहुने र नेताहरुबीच यसमा सहमति भएको जानकारी मुख्य सचिव पौडेलले दिए । अब सभापति शेरबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यताको अन्तिम सूची पार्टीको निर्वाचन समितिलाई बुझाएपछि समितिले महाधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउने छ ।
१–२ दिनमै अब यी काम पूरा हुने जानकारी नेताहरुले दिए । वडा अधिवेशन भदौ १८ गते गर्ने निधो कांग्रेसले गरेको छ । आगामी मंसिर ९–१३ गतेसम्म पार्टीको १४औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय कांग्रेसले यसअघि गरिसकेको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।