काठमाडौं – तालिबानले कब्जा गरेपछि अफगानिस्तानबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उद्धार गरेका नेपाली नागरिक स्वदेश फर्कनेक्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
आज शुक्रवार जजिरा एयरको कुवेत–काठमाडौं नियमित उडानबाट थप १६५ नेपाली स्वदेश फर्किएका मन्त्रालयले जनाएको छ ।
यससँगै हालसम्म अफगानिस्तानबाट ४६१ नेपाली स्वदेश फर्किएका र थप ९ जना नियमित उडानबाट शुक्रवार राति आइपुग्ने मन्त्रालयले जानकारी दिएको छ ।
अफगानिस्तानबाट उद्धार भई स्वदेश आएकामा काबुलस्थित विभिन्न कूटनीतिक नियोगमा काम गर्नेका अतिरिक्त अनौपचारिक क्षेत्रमा रोजगारी गरिरहेका केही रहेका छन् ।
काठमाडौं आइपुगेकालाई अध्यागमन लगायत प्रक्रिया पूरा गरी कोभिड संकट व्यवस्थापन केन्द्रको समन्वयमा सामाखुसीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड–१९ संक्रमणको परीक्षणलगायत प्रक्रियागत काम सम्पन्न गरी आवश्यक व्यवस्थापन भएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिएकी छन् ।
कन्सुलर सेवा विभागको वेबसाइटमा शुक्रवार साँझ ५ बजेसम्म ३१० जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् । उद्धार कार्यको सहजताका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टलमा दर्ता भएका जनाइएको छ ।
नेपाल राजदूतावास नयाँदिल्लीबाट प्राप्त विवरण टिपाएका नेपालीलाई सम्पर्क गरी अहिले रहेको स्थान अनुसार समूहीकृत सूची तयार गरिएको जनाइएको छ । समूहीकृत सूची काबुलबाट उद्धार उडान गरिरहेका मित्रराष्ट्रलाई उपलब्ध गराई उद्धार कार्यमा आवश्यक सहकार्य र समन्वय भइरहेको समेत परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।