काठमाडौं – लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कूलप्रसाद केसीले प्रमुख राजनीतिक सल्लाहकारमा अम्मरबहादुर डाँगीलाई पहिलो नियुक्ति दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीको शपथग्रहणलगत्तै बिहीवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डाँगीलाई मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता कृष्णध्वज खड्काले सहायक राज्यमन्त्री स्तरको सेवासुविधा पाउने गरी डाँगीलाई मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त गरेको बताएका छन् ।
नेकपा एमालेका तत्कालीन सांसद डाँगीले गत बैशाख २२ गते पदबाट राजीनामा दिएका थिए । डाँगीको राजीनामापछि यसअघिका मुख्यमन्त्री शंकर पोखरेलको सरकार अल्पमतमा परेको हो ।
दाङको निर्वाचन क्षेत्र नम्बर २(२) बाट प्रदेशसभा सदस्य निर्वाचित डाँगी घोराही उपमहानगरपालिकाका पूर्व मेयर समेत हुन् ।
नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले क्यान्सर, मिर्गौला तथा मुटुरोगका बिरामीलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको छ । पहिलो बैठकले क्यान्सर, मिर्गौला तथा मुटुरोगका बिरामीलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रवक्ता खड्काले जानकारी दिए ।
बैठकले कोरोना हटलाइन एम्बुलेन्स सञ्चालन गर्ने तथा कोरोनाको एन्टिजेन परीक्षणको लागि घुम्ती शिविर सञ्चालन गर्ने निर्णय समेत गरेको छ । कोरोना विरुद्धको खोपलाई प्रभावकारी बनाउने निर्णय समेत गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।