काठमाडौं - नेकपा एमालेमा यतिबेला ‘जोगी देख्दा भैंसी डराउने, भैंसी देख्दा जोगी डराउने’ अवस्था देखिएको छ । पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको आपसको इगोले यस्तो अवस्था उत्पन्न भएको हो ।
ओलीले माधव नेपाललाई पार्टीबाट निकाल्न खोजेको चार महिना बितिसक्यो । तर, अझै पनि उनले साहस गर्नसकेका छैनन् । कहिले स्पष्टीकरण सोध्छन् । कहिले यति समयसम्मका लागि भन्दै अल्टिमेटम दिन्छन् ।
अर्कोतिर माधव नेपाल पनि अडानबाट टसमस छैनन् । आफू निकट ठूला नेता सबै ओलीले लगिसक्दा पनि उनी आफ्नै अडानमा छन् । अझ उनले ‘ओलीमुक्त एमाले’ को कल्पना गरेका छन् । एकले अर्कोलाई निषेध गर्न खोजे पनि कार्यकर्ता भने अझै पनि सग्लो एमालेको आशमै छन् ।
ओलीले अब माधव नेपालका लागि ठाउँ छैन भन्दै आइतबारका लागि केन्द्रीय कमिटी बैठक राखेर महत्वपूर्ण निर्णय गर्ने चेतावनी दिएका थिए । सोहीअनुसार आजका लागि बैठक निर्धारित गरिएको थियो । तर, एकाएक शनिबार राति नै केन्द्रीय कमिटी बैठक सोमबारका लागि सारिएको छ । सोमबार पनि बैठक बस्ने नबस्ने टुंगो छैन ।
आइतबार ओली पक्षको बैठकको निर्णयका आधारमा माधव नेपालले आगामी रणनीति अख्तियार गर्ने तयारी गरेको थियो । यदि आफ्नो पक्षका नेतालाई कारबाही गरे माधव नेपालले आजै नयाँ पार्टी गठन गर्ने प्रक्रिया थाल्ने सुइँको पाएपछि ओलीले एक दिन पर बैठक सारेको बुझिएको छ ।
माधव पक्षको रणनीति भत्काउनकै लागि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी प्रयोग गरेका छन् । उनले शनिबार माधव पक्षका भीम रावलसँग गोप्य कुराकानी गरेकी छन् । माधव पक्षको रणनीति बुझ्नकै लागि रावललाई शीतल निवास बोलाइएको बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।