काठमाडौं - सरकारले स्पष्टीकरण सोधेको भोलिपल्ट नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले माओवादी केन्द्र नेता एवं पूर्वमन्त्री रामचन्द्र झालाई ‘नवआतंककारी’ को संज्ञा दिएका छन् ।
जनकपुरस्थित कम्पनीको कार्यालयमा कर्मचारीहरुमाथि भएको दुर्व्यवहार तथा कुटपिटको घटनालाई लिएर उनले सामाजिक सञ्जालमार्फत माओवादी र उक्त दलका पूर्व सांसद झामाथि यस्तो आरोप लगाएका हुन् ।
भट्टराईले बुधबार बिहान फेसबुकमा लेखेका छन्, ‘माओवादी आतंक सुरु भइसक्यो । पूर्वमन्त्री तथा पूर्वमाओवादी सांसद रामचन्द्र झा (नव आतंककारी) ले रेल्वेमा आफ्नो पार्टिको मान्छे भर्ना नगरे रेल चल्न दिन्नँ, चलाए कुटपिट गर्छु भनेर धम्की दिएर हिँडे ।’
मंगलबार पूर्वमाओवादी सांसद झा नेतृत्वको समूहले कम्पनीको कार्यालयमा पुगेर कर्मचारीहरुलाई धम्क्याएको तथा हातपात गरेको आरोप कर्मचारीहरुले लगाएका छन् । उनीहरुले घटनामा संलग्नमाथि कारवाहीको माग गर्दै कार्यालय प्रमुखसमक्ष निवेदनसमेत दिएका छन् ।
भट्टराईले यसअघि पनि सरकारी उच्च पदमा बसेर आफूविरोधी नेतामाथि अश्लील गालीगलौज गर्दै आएका थिए । झापाका भट्टराईलाई सामाजिक सञ्जालमा चाकडी गरेकै कारण अघिल्लो सरकारका प्रधानमन्त्री केपी ओलीले रेल्वे कम्पनीको महाप्रबन्धक नियुक्ति गरेका थिए ।
उनले सामाजिक सञ्जालमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालमाथि निकै तल्लोस्तरमा कमेन्ट लेख्दै आएका छन् । सोही कारण मन्त्रिपरिषद्को मंगलबारको बैठकले उनलाई स्पष्टीकरण सोधेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।