काठमाडौं - साढे तीन वर्षसम्म बालुवाटारमा रजगज गरेर अहिले बालकोटको बार्दलीमा सीमित हुन पुगेका एमाले अध्यक्ष केपी ओलीको पछि लाग्दा सयौं मानिसको भविष्य दाउमा लागेको छ ।
ओली प्रवृत्तिलाई साथ दिएको भन्दै उनीसँग नाम जोडिएका आफ्नै पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, अन्य दलका नेता, कर्मचारी प्रतिगमनकारी मानिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि ओलीले गरेका राजनीतिक नियुक्ति धमाधम खारेज मात्र गरिएको छैन, ओली निकट मुख्यमन्त्री, प्रदेश प्रमुखसमेत हटाउने अभियान सुरु भएको छ ।
ओलीले दुई–दुईपटक प्रतिनिधिसभा भंग गरेर अध्यादेशबाट सत्ता चलाएकाले उनलाई प्रतिगमनको मतियार भनिएको हो । ओलीलाई साथ दिएकैले जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टी मात्र गुमाएनन्, सांसद पद पनि संकटमा परेको छ ।
ओलीले नियुक्ति सिफारिस गरेका ११ देशका राजदूतको नियुक्ति खारेज भइसकेको छ । अब संवैधानिक परिषद्ले मंसिर ३० गतेपछि नियुक्ति गरेका सबैलाई हटाउने तयारी हुँदैछ ।
ओलीको प्रतिगमनलाई साथ दिने जसपाका १६ केन्द्रीय कार्यकारिणी सदस्यलाई जसपाले जिम्मेवारीबाट मुक्त गरेको छ ।
यस्तै, ओलीलाई साथ दिन पुगेका माओवादी केन्द्रका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, गौरिशंकर चौधरी, दावा लामालगायत घरका न घाटका भएका छन् । एमालेमा प्रवेश गरे पनि सो पार्टीमा देखिएको किचलोले उनीहरूले आफ्नो राजनीतिक भविष्य उज्ज्वल देखेका छैनन् ।
यदि एमाले विभाजन भएमा ओलीलाई साथ दिन सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, ईश्वर पोखरेलको समेत राजनीतिक भविष्य दाउमा लाग्नेछ । किनभने एमालेका भविष्य बोकेका नेताहरू सबै माधव नेपाल पक्षमा छन् ।
ओलीलाई साथ दिने विष्णु रिमाल, गोकुल बासकोटा, महेश बस्नेत, कर्ण थापा, सूर्य थापाको साथमा रहेर राजनीति गर्न नसकिने बुझेरै माधव नेपाल पक्षले एकतालाई नरुचाएको देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।