गुल्मी – नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले ओली सरकारको ज्यादतिका कारण नेपाली कांग्रेसलाई अहिले अनपेक्षित रूपमा सरकार सञ्चालनको अवसर प्राप्त भएको बताएका छन् ।
नेपाली कांग्रेसको नेतृत्वको सही समयमा सही निर्णय गर्ने सुझबुझ र परिपक्वताले मुलुकमा विधिको शासनलाई स्थापित गर्न मद्दत पुगेको धारणा उनले राखे ।
नेपाली कांग्रेस गुल्मीले सोमबार बीपी स्मृति भवन तम्घासमा आयोजना गरेको पाटी कार्यकर्ता भेटघाट कार्यक्रममा नेता महतले लोकतान्त्रिक मूल्यमान्यता, विधिको शासन एवं भ्रष्टाचारमुक्त र जनता केन्द्रित शासन स्थापित गर्न नसकेका कारण ओली सरकार बहिर्गमन हुनुपरेको बताए ।
सहमहामन्त्री डा. महतले भने, ‘धैर्यता, संयमता र सुझबुझपूर्ण तरिकाबाट जसरी सत्ता सञ्चालनको जिम्मेवारीमा हामी पुगेका छौं, त्यहीअनुरूप संयमित रूपमा शासन सत्ता सञ्चालन गर्नुपर्छ, कहीँकतै पनि प्रश्न गर्ने ठाउँ दिनु हुँदैन,’ नेता महतले भने ।
उनले मुलुक सञ्चालन गर्नका लागि इमान, सीप र सम्पर्ण चाहिने भन्दै त्यो कुरा नेपालका कम्युनिस्टहरूमा नदेखिएको आरोप पनि लगाए । उनले जनताका चाहना र अपेक्षा बुझेर नै वर्तमान सरकारले काम गर्ने पनि बताए ।
नेपाली कांग्रेस विधि र संविधानमा विश्वास गर्ने पार्टी भएका कारण जनताले यो सरकारप्रति ठूलो अपेक्षा गरेको भन्दै नेता महतले उक्त अपेक्षालाई पूरा गर्न पनि वर्तमान सरकारलाई कहीँकतै त्रुटि नगरी सजग भएर पाइला चाल्न समेत आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले यो अवस्थामा नेपाली कांग्रेसको काँधमा सरकार सञ्चालनको जिम्मेवारी आउनु भनेको अवसर र चुनौती दुवै उत्तिकै रहेको भन्दै यो अग्नि परीक्षामा खरो उत्रिनुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले व्यक्तिभन्दा माथि उठेर मुलुक र पार्टीका लागि लाग्न नेतृत्व पंक्तिलाई सुझाव दिएका थिए ।
कार्यक्रममा पाटी नेता तथा कार्यकर्ताले पार्टीको आसन्न निर्वाचन, पेशागत समस्या, सरकार गठन प्रक्रिया र आउँदो निर्वाचन लगायतका विषयमा आफ्ना धारणा राखेका थिए । नेता डा. महत आजै नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्बर १ का पार्टी सभापति एवं गुल्मी दरबार गाउँपालिका अध्यक्ष अशोककुमार थापाको निधन भएको १२औं दिनको पुण्यतिथीमा आयोजित शोकसभामा पनि सहभागी भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।