आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेमा बलियो बनेका माधव नेपालमाथि सुरक्षा खतरा ! थप १० प्रहरी परिचालन

एमालेमा बलियो बनेका माधव नेपालमाथि सुरक्षा खतरा ! थप १० प्रहरी परिचालन

  • मिडिया डबली
  • मंगलवार, श्रावण ५ २०७८

  • 7.3K
    SHARES

  • एमालेमा बलियो बनेका माधव नेपालमाथि सुरक्षा खतरा ! थप १० प्रहरी परिचालन

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पक्षभित्र विद्रोह गराएर सांसदहरू तान्दै पार्टीभित्र बलियो बन्दै गएका नेता माधवकुमार नेपालमाथि सुरक्षा खतरा देखिएको छ ।

    अध्यक्ष ओली पक्षका युवा नेताहरू सडकमै चर्का नारा लगाउँदै नेपालविरुद्ध आक्रामक देखिएपछि सुरक्षा खतरा बढेको आकलन गर्दै सरकारले थप १० जना प्रहरी परिचालन गरेको छ ।

    प्रमुख प्रतिपक्ष दल एमाले भित्रको विवादका कारण नेता नेपाल पक्षका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा संसदमा मत दिएपछि असुरक्षा बढेको आकलन गरिएको स्रोतले जनाएको छ ।

    पछिल्लो राजनीतिक घटनाक्रममा आएको फेरबदलसँगै अन्य पूर्व प्रधानमन्त्री र पदाधिकारीको सुरक्षामा खटिने संख्या थप्न लागिएको प्रहरी स्रोतले जनाएको छ । ‘माओवादी अध्यक्ष प्रचण्ड र नेपाल मात्र होइन, अन्य केही नेताको पनि सुरक्षा खतरा बढेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘यसअघिको निर्णयमा परिमार्जनको तयारी भइरहेको छ ।’

    पूर्व पदाधिकारीको सेवा सुविधा सम्बन्धी मापदण्ड विपरीत नयाँ सरकारले सुरक्षाकर्मी थपेको विषय विवादमा परेको छ । ३ वटै सुरक्षा निकायका प्रतिनिधि रहने केन्द्रीय सुरक्षा समितिले पूर्व पदाधिकारीको ‘सुरक्षा थ्रेट’ विश्लेषण गरेर सुरक्षाकर्मीको संख्या तय गर्ने गरेको छ ।

    यसैबीच, सत्ता संघर्षको लामो रस्साकस्सीपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पराजित भएर निजी निवास बालकोट पुगेपछि नेकपा एमालेमा ठूलो उथलपुथल आएको छ ।

    पार्टी अध्यक्ष ओली पक्षकै कट्टर सांसदहरू प्रेमबहादुर आले, किसान श्रेष्ठ लगायत नेता माधवकुमार नेपाल पक्षमा खुलेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि पार्टीमा उथलपुथल भएको हो । अझै धेरै नेता र सांसदहरू नेपाल पक्षमा खुल्ने सम्भावना रहेको चर्चा मंगलबारको नेपाल पक्षको भेलामा भएको छ ।

    सांसद किसान श्रेष्ठका अन्त्यन्तै निकट मित्र सांसद महेश श्रेष्ठ समेत नेपाल पक्षमा आउनसक्ने चर्चा छ । पछिल्लोपटक ओलीले मन्त्रिपरिषद् विस्तार गर्दा सांसद बस्नेतलाई गृहमन्त्री बनाएका थिएनन्, त्यतिबेला बस्नेत ओलीसँग असन्तुष्टि बनेका थिए ।

    देउवालाई विश्वासको मत दिएका २२ सांसदसँगको नेता नेपालको छलफलमा नेताहरूले केहीदिनमै एमालेभित्रै बहुमत पुग्ने भएकाले अर्काे पार्टी खोल्नतिर सोच्न नहुने धारणा व्यक्त भएको छ । एमालेमा बहुमत पुर्‍याएर ओली बिनाको एमाले बनाउनुपर्ने विषयमा बैठकमा छलफल भएको स्रोतले जनाएको छ ।

    एमाले केन्द्रीय सदस्य तथा सांसद मेटमणि चौधरीले केही दिन पर्खिएमा केन्द्रीय कमिटी र संसदीय दलमा नेपाल पक्षको बहुमत पुग्ने र साबिकको एमालेमै अध्यक्ष ओलीलाई हटाउन सकिने विषयमा छलफल भएको बताएका छन् ।

    चौधरीले भने, ‘केन्द्रीय सदस्यहरूको राय सुन्दा १५ दिनभित्र एमालेको केन्द्रीय कमिटीमा बहुमत पुग्ने, संसदीय दलमा पनि बहुमत पुग्ने भएकाले त्यसबाट ओलीलाई हटाएर ओली बिनाको पार्टी गठन गर्ने भन्ने सुझाव आएको छ ।’

    एमाले सांसद विरोध खतिवडाले ओली पक्षबाट नेपाल पक्षमा १४ जना सांसद थपिएको दाबी गरेका छन् । ‘हिजो मतदान गरेका साथीहरू देखिहाल्नुभयो, अरु पनि हामीसँग सम्पर्कमा हुनुहुन्छ,’ सांसद खतिवडाले भने ।

    सांसद चौधरीले नयाँ पार्टी गठन गर्नेबारे पनि कानून व्यवसायीसँग छलफल गरेर निर्णय लिने बताएका छन् । उनले भने, ‘सकभर एमाले एकता कायम राख्न अन्तिमसम्म प्रयास गर्छौं । कानूनले दिन्छ भने नयाँ पार्टी बनाएर जानुपर्छ भन्ने सुझाव पनि आएको छ । कानूनले दिन्छ भने त्यहाँसम्म पनि जान्छौं ।’

    सरकारमा सहभागिताबारे कानूनी परामर्श भइरहेको र सरकारमा गएबापत सांसद पद नजाने कुराको ग्यारेन्टी भएमा मात्रै निर्णय हुने उनले बताए । सांसद रामकुमारी झाँक्रीले सरकारमा जानेभन्दा पनि संसदलाई पूर्ण अवधि क्रियाशिल बनाउनेबारे छलफल भएको जानकारी दिइन् ।

    ‘अर्को दलले नेतृत्व गरेको सरकारमा जाने कुरै भएन । सरकारमा जानेभन्दा पनि पूरा अवधि संसद क्रियाशील कसरी बनाउने भन्ने बारेमा छलफल भयो,’ सांसद झाँक्रीले भनिन् ।

    नेता नेपाल पक्षले भोलि बुधबार बिहान ११ बजे सबै केन्द्रीय सदस्य र सांसद सहितको संयुक्त बैठक राखेर अन्तिम निर्णय लिने तयारी गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०५:४९:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend