आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

संसदमा माधव नेपाल पक्षका यी सांसदले ‘नो भोट’ गर्ने (नामसहित)

संसदमा माधव नेपाल पक्षका यी सांसदले ‘नो भोट’ गर्ने (नामसहित)

  • मिडिया डबली
  • आइतवार, श्रावण ३ २०७८

  • 6.2K
    SHARES

  • संसदमा माधव नेपाल पक्षका यी सांसदले ‘नो भोट’ गर्ने (नामसहित)

    काठमाडौं – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्तावमाथि प्रतिनिधि सभामा छलफल चलिरहेका बेला नेकपा एमालेको माधवकुमार नेपाल पक्षका केही सांसदले ‘नो भोट’ गर्ने भएका छन् ।

    प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सन्दर्भमा नेकपा एमालेको नेपाल पक्ष विभाजित बनेको छ ।

    नेता नेपालसहित समानुपातिक सांसद र अन्य केही प्रत्यक्ष निर्वाचित सांसदले विश्वासको मत दिने जनाएका छन् ।

    एमालेको विवाद समाधान कार्यदलमा रहेका सुरेन्द्र पाण्डेसहित अन्य प्रत्यक्ष निर्वाचित सांसद ‘नो भोट’को पक्षमा उभिने भएका छन् । संसद सचिवालयबाट विश्वासको मतको पक्ष वा विपक्षमा वा मत दिन नचाहने सांसदको लागि ‘मत दिन्न’ भन्ने अलग्गै व्यवस्था समेत गरिएको छ ।

    प्रतिनिधिसभा संसद जोगाउन चाहिने बहुमत देउवाको पक्षमा पुगेकाले माधव पक्षका केही सांसद ‘नो भोट’ गर्ने भएका छन् ।

    सांसदहरू यज्ञराज सुनुवार, झपट रावल, राजबहादुर बुढा, गोकर्ण बिष्ट, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, दीपकप्रकाश भट्ट लगायत ‘नो भोट’ गर्ने पक्षमा देखिएका छन् ।

    देउवाको प्रस्तावमा कतै मत नदिने भनेका कार्यदलका नेतासहित केही माधव पक्षीय सांसदहरू संसद भवनबाट बाहिर गएका छन् ।

    यसअघि, नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत मागेका छन् । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि देउवा नियुक्त भएका हुन् ।

    नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिएपनि हुनेमा देउवा प्रधानमन्त्री नियुक्त भएको ४ दिनमै मत लिएका छन् । विश्वासको मत लिने प्रक्रियामा देउवाले सबै दललाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

    देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा लगायतले विश्वासको मत दिँदैछन् ।

    विश्वासको मत माग्दै देउवालाई प्रतिनिधि सभामा प्रस्ताव राखेका छन् ।

    विश्वासको मत माग्दै देउवाले के–के बोले ?

    माननीय सभामुख महोदय,

    प्रतिनिधि सभा विघटन पश्चात सम्मानीय सर्वोच्च अदालतको फैसलाले प्रतिनिधि सभा पुर्नस्थापित भएको छ। आज सभाको आठौं अधिवेशन प्रारम्भ भईरहेको छ। म सबै भन्दा पहिले सबै माननीय सदस्यहरुलाई हार्दिक बधाई दिन चाहन्छु। नेपाली जनताको ठूलो त्याग, तपस्या र बलीदानले देशमा संघीय, लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। ईतिहासको लामो कालखण्डमा लोकतन्त्रका लागि भएका राजनीतिक संघर्षमा बलीदान गर्ने सम्पूर्ण शहिदहरुलाई सम्मानपूर्वक स्मरण गर्दै हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु। लोकतन्त्रको स्थापना र संरक्षणका लागि योगदान गर्नु हुने सबै नेपाली नागरिककाप्रति हार्दिक सम्मान व्यक्त गर्दछु।

    पटक–पटकको प्रतिनिधि सभा विघटनका कारण विगत केही समय देशमा राजनीतिक अन्यौल र अनिश्चितताको स्थिति रह्यो। नेपालको संविधानको धारा ७६ (३) बमोजिम नियुक्त हुनु भएका निवर्तमान प्रधानमन्त्री माननीय के.पी. शर्मा ओलीजीले धारा ७६ (४) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत नलिई  धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि प्रक्रिया प्रारम्भ गर्न सम्माननीय राष्ट्रपतिलाई अनुरोध गर्नु भएपछि नयाँ प्रधानमन्त्री नियुक्तिको प्रकृया प्रारम्भ भयो। केही समयको राजनीतिक र संवैधानिक अभ्यास पश्चात म नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्त भएको छु। र मेरो नेतृत्वमा मन्त्री परिषद् गठन भएको छ। मलाई प्रधानमंन्त्रीमा नियुक्त हुन सहयोग र समर्थन गर्नु हुने राजनीतिक दलका नेताहरु, माननीय सदस्यहरु लगायत सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु। यो सरकारलाई भविष्यमा पनि निरन्तर सहयोग र समर्थन रहने विश्वास पनि लिएको छु।

    माननीय सभामुख महोदय,

    अहिले मुलुक निकै जटिल अवस्थामा छ। विश्वव्यापी रुपले फैलिएको कोभिड–१९ को प्रकोपले हामी निकै प्रभावित भएका छौ। दैनिक रुपले संक्रमण बढी रहेको छ। मानिसहरुको मृत्यु भईरहेको छ। म कोभिड—१९ का कारण मृत्यु भएका सबैको आत्माको चीर शान्तिको कामना गर्दछु। शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। अस्पतालमा उपचार गराईरहनु भएका सबैको शिघ्र स्वास्थलाभको कामना गर्दछु। कोभिड—१९ को नियन्त्रण र रोकथामका लागि अहोरात्र खटेर काम गर्नु हुने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु। नेपाली नागरिकलाई कोभिड—१९ को प्रकोपबाट जोगाउने यो सरकारको पहिलो प्राथमिकता हुनेछ। सरकारले कोभिड—१९ को नियन्त्रण र रोकथामका लागि सबै उपायहरु अवलम्बन गर्नेछ भन्ने म प्रतिवद्धता व्यक्त गर्दछु।

    माननीय सभामुख महोदय
    हामी याँहा उपस्थित सबै राजनीतिक दलहरुको प्रयत्नबाट नेपालको संविधान निर्माण भएको हो। संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। यसको संरक्षण र सुदृढीकरण पनि हामी सबैको प्रयासबाट मात्र सम्भव छ। बहुदलिय व्यवस्थामा फरक–फरक राजनीतिक बिचार हुने तीनका बिचमा प्रतिस्पर्धा हुने, स्वस्थ आलोचना प्रत्यालोचना हुने विषयहरु स्वाभाविक र राम्रा हुन। ती आवश्यक पनि छन। तथापी हाम्रा केहि साझा चुनौति, उद्देश्य र गन्तव्य छन। जस्का लागि हामीले सहकार्य र सहयात्रा गर्नु पर्छ। कोभिड—१९ हाम्रो तत्कालको चुनौति हो। गरीबी, वेरोजगारी, अशिक्षा जस्ता तमाम साझा समस्या छन। नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान हाम्रा साझा विषय हुन। नेपालको संविधानको संरक्षण र यसको असल कार्यान्वयन हाम्रो साझा गन्तव्य हो। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमवाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नु हामी सबैको साझा उद्देश्य हो। यसका लागि हाम्रा बिचमा सहकार्य र सहयात्राको आवश्यकता छ।

    सभामुख महोदय,
    हामी सबैसंग आ–आफ्ना अनुभवहरु छन। माननीयके.पी. शर्मा ओलीले विगत साढे तीन वर्ष सरकारको नेतृत्व गर्नु भएको छ। वहाले गर्नु भएका असल कामका लागि म धन्यवाद दिन चाहन्छु। वहाको अनुभव हाम्रा लागि उपयोगी हुनेछ। विगतमा भएका राम्रा कामहरुलाई निरन्तरता दिदै कमी कमजोरी सुधार गर्दै लानु पर्नेछ। महत्वपूर्ण नयाँ कामहरु पनि गर्नुछ। देशमा सुशासन कायम गर्नुछ। यसका लागि सरकार, प्रमुख प्रतिपक्ष र सबै राजनीतिक दलहरु बिच निरन्तर सम्वाद, सहकार्य र सामुहिक प्रयत्न आवश्यक छ भन्ने मेरो मान्यता छ र यसका लागि म सदैव प्रयत्नशिल रहने छु। हामी राजनीतिक दलहरु एक अर्काका शत्रु होईनौ बरु हाम्रा साझा उदेश्य प्राप्तिका लागि सहयात्री हौ भन्ने भावनाका साथ काम गर्नु पर्दछ।

    सभामुख महोदय,
    संसदीय लोकतन्त्रको स्थापनाका लागि देशमा लामो त्याग तपस्या र बलीदानपूर्ण संघर्ष भएको हो। संसदलाई अधिकार सम्पन्न, जिवन्त र क्रियाशिल बनाउनु पर्दछ। सरकार संसदप्रति उत्तरदायी रहनु पर्दछ भने संसदले सरकारका सबै गतिविधिप्रति ध्यान दिई अनुगमन गर्नुपर्दछ। यसले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँछ। निरन्तरको राजनीतिक अन्यौल, अनिश्चितता र अस्थिरताले लोकतन्त्रलाई नै कमजोर गर्दछ। तसर्थ अब हामी राजनीतिक स्थिरताको बाटोमा हिड्न जरुरी छ।

    सभामुख महोदय,

    म नेपालको संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्री भएको हुँदा नेपालको संविधानको धारा ७६ को उपधारा (६) बमोजिम विश्वासको मत प्राप्त गर्न सम्मानित प्रतिनिधि सभामा प्रस्तुत भएको छु। सबै माननीय सदस्यहरुले मलाई विश्वासको मत दिनु हुनेछ भन्ने विश्वास गरेको छु।

    धन्यवाद !

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०५:४९:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend