काठमाडौं – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएपछि नेकपा एमालेको माधवकुमार नेपाल पक्षका कम्तिमा १० जना सांसदहरू होटलमा राखिएका छन् ।
नेता नेपाल पक्षका १० सांसदहरूले आईतबार बिहानै काठमाडौंको एक होटलमा भेला भएर देउवाको पक्षमा भोट दिने तयारीमा छन् । सांसदहरूलाई राखिएको होटलबारे गोप्य राखिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले चालबाजी गर्नसक्ने भएकाले १० सांसदलाई होटलमा गोप्य रूपमा राखिएको स्रोतले जनाएको छ ।
सांसदहरु विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री लगायत १० सांसदहरूलाई होटलमा राखेर देउवाको पक्षमा विश्वासको मत दिन स्पष्ट पारिएको छ ।
होटलमा रहेका एक सांसदले भने, ‘हामी आफैंले हस्ताक्षर गरेर बनेको हुनाले १० जना सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेका छौं ।’
शनिबार साँझ सत्तारुढ गठबन्धनको बैठकमा एमाले नेता नेपालले कम्तिमा १० सांसदहरूले विश्वासको मत दिने आश्वासन दिएका हुन् । नेपालको आश्वासनपछि प्रधानमन्त्री देउवाले आज आईतबार हतारहतारमा विश्वासको मत लिने तयारी गरेका छन् ।
स्थायी कमिटीमा रहेका सदस्य मतदानमा सहभागी नहुने र केन्द्रीय कमिटीमा रहेका र केन्द्रीय कमिटीमा नरहेका सांसदहरुले भोट हाल्ने तयारी नेपाल पक्षको छ । सांसद तथा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले संसद जोगाउनका लागि विश्वासको मत दिने खुला घोषणा गरिसकेकी छन् ।
जसपामा समेत महन्थ ठाकुर पक्षका ५ जना सांसद उपेन्द्र यादव पक्षमा लागेकाले देउवालाई एमालेका कम्तिमा ८ सांसदको समर्थन चाहिने देखिएको छ । नेपाल पक्षबाट १० सांसदले विश्वासको मत दिएमा देउवाले विश्वासको मत पाएर आगामी १७ महिनासम्म प्रधानमन्त्री हुन पाउने छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।