काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको पहिलो बैठकमा आजै विश्वासको मत लिने तयारी गरेका छन् । यसबारेमा कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाबीच सहमति भइसकेको बुझिएको छ ।
संसद् सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिनसक्ने भएकाले त्यहीअनुसारको तयारी पनि गरिएको छ । दोस्रोपटक पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज दिउँसो ४ बजे बस्दैछ ।
बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको संसद् बैठकको पत्र पढेर सुनाउने कार्यतालिका छ । यसैगरी, मन्त्रिपरिषद्को गठन र मन्त्रीहरूको कार्यविभाजनबारे जानकारी गराइने भएको छ । यस्तै, विभिन्न सांसदरूको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।
प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने खबर बाहिरिएसँगै शीतल निवास र बालकोटमा हलचल मच्चिएको छ । देउवा प्रधानमन्त्री भएकोमा राष्ट्रपति विद्यादेवी भण्डारी र केपी ओली खुसी छैनन् । त्यसमा पनि संसद्को पहिलो बैठकमै विश्वासको मत लिने तयारीले उनीहरूमा तनाव थपिएको छ ।
संविधानको धारा ७६ (५) अनुसार बनेको सरकार भएकाले सांसदलाई दलीय ह्विप लाग्दैन । त्यसमा पनि एमालेमा एकता हुन सकेको छैन । ओली र माधवकुमार नेपालबीच चरम संघर्ष छ । यदि आजै देउवाले विश्वासको मत लिएमा १७ महिना सरकार निर्धक्क चल्ने छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।