काठमाडौं – दल दर्ता खारेजीको माग गर्दै परेको निवेदन दर्ता गरेकोमा निर्वाचन आयोगप्रति नेकपा माओवादी केन्द्रले आक्रोश पोखेको छ ।
माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीसँग सम्बन्ध नै नभएका व्यक्तिले दिएको निवेदन दर्ता गरेकोप्रति आपत्ति जनाएको छ ।
अनाधिकृत तथा आयोगसँग बेसरोकार रहेको निवेदन दर्ता स्वीकृत नगर्न आयोगलाई माओवादीले आग्रह गरेको छ ।
एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरूले बुधबार माओवादी दल दर्ता खारेजीको निवेदन निर्वाचन आयोगमा दिएका थिए भने शुक्रबार नेताहरू आफैं आयोग पुगेर कारवाहीबारे जानकारी लिएका छन् ।
माओवादीको विज्ञप्तिमा उल्लेख छ, ‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजी सम्बन्धी सामान्य कानूनी प्रक्रिया समेत जानकारी नभएको व्यक्तिले यस्तो हर्कत गर्नु हास्यास्पद देखिन्छ ।’
केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनसायले उजुरी दिने कार्य गरेको माओवादीको आरोप रहेको छ । संविधान, कानून, विधि, विधान विपरीत गरिएको दुष्प्रचारको भ्रममा नपर्न माओवादी केन्द्रले सम्पूर्ण अंग नेता कार्यकर्ता, शुभचिन्तकलाई विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।