मंगलवार, आश्विन २७ २०८३Oct 13 2026

Logo
images images

कम्युनिस्टलाई जिताएर वर्षैपिच्छे रोइरहेका छन् सिन्धुपाल्चोकका जनता !

कम्युनिस्टलाई जिताएर वर्षैपिच्छे रोइरहेका छन् सिन्धुपाल्चोकका जनता !

  • मिडिया डबली
  • बुधवार, आषाढ २ २०७८

  • 14.0K
    SHARES

  • कम्युनिस्टलाई जिताएर वर्षैपिच्छे रोइरहेका छन् सिन्धुपाल्चोकका जनता !

    काठमाडौं – समृद्धिको आकर्षक नारा दिएका कारण सिन्धुपाल्चोकका जनताले कम्युनिस्ट उम्मेदवारलाई जिताए । सिन्धुपाल्चोकको १ नम्बर क्षेत्रबाट जितेका अग्निप्रसाद सापकोटा सभामुख बनेर समृद्ध बनेका छन् भने २ नम्बर क्षेत्रबाट जितेका शेरबहादुर तामाङ मन्त्री बनेर समृद्धि हासिल गरिरहेका छन् । तर सिन्धुपाल्चोकका जनता बाढीपहिरोमा बगेर मर्न बाध्य छन् ।

    मंगलबार रातिदेखि मेलम्ची नदी र ईन्द्रावती नदीमा आएको बाढीले धेरै क्षति गरेको छ । बुधबार बिहानैदेखि सर्वसाधारणको भागाभाग मच्चिएको थियो । सिन्धुपाल्चोकमा बाढीपहिरो नौलो घटना होइन, वर्षैपिच्छे भइरहेको छ । तर समृद्धिको नारा दिएर चुनाव जितेका सांसद सभामुख र मन्त्री भइसक्दा समेत जनतालाई ज्यान जोगाउनतिर ध्यान दिइरहेका छैनन् ।

    कम्युनिस्ट सांसदहरू जितेपछि २०७५ भदौ २ गते राति साँधी खोलामा आएको पहिरोले पक्की पुल बगाएको थियो । सोही वर्ष पहिरोले २२ घरमा लेदो पसेको र १२ घर जोखिममा परेका थिए ।

    २०७७ असार २४ गते राति बाह्रबिसे नगरपालिका–५ जम्बु बजार पहिरोले पुरिँदा २ जनाको मृत्यु, १७ जना बेपत्ता, २५ घर बस्न नमिल्ने गरी क्षतिग्रस्त भए । बाह्रबिसेकै खागदलमा बाढी पहिरोले बस्ती पुरिँदा २२ घर क्षतिग्रस्त बने ।

    सोही वर्ष भोटेकोशी गाउँपालिकाको बुल्कुटे पहिरोले १ जनाको मृत्यु भएको थियो भने ३ जना बेपत्ता भए । लार्चामा पहिरोले १३ घर क्षतिग्रस्त भएपछि गाउँ नै विस्थापित बनेको थियो । अरनिको राजमार्गका खागदल र बुल्कुटेका २ वटा पक्कीपुल क्षतिग्रस्त भएका र लार्चाका विस्थापितलाई तातोपानीस्थित ड्राइपोर्टमा राखिएको थियो ।

    २०७७ असार ३१ गते राति भोटेकोशी गाउँपालिकाको फुल्पिङगाउँमा खसेको पहिरोले एकै परिवारका ५ जनाको मृत्यु भएको र ३ घर पूर्णरुपमा क्षतिग्रस्त बनेका थिए ।

    २०७७ साउन १८ राति मेलम्ची नगरपालिकाको मेलम्ची बजार नजिकैको पहिरोमा परी ९ जना मजदुरको मृत्यु भयो । सोही रात बरुवामा घर पुरिएर २ जनाको मृत्यु भयो ।

    २०७७ साउन २२ गतेको अविरल वर्षाका कारण चौतारा साँगाचोकगढी नगरपालिका–२ सेराफाँटमा ४ घर पुरिएर क्षति भएको र बलेफी कात्तिके सडक अवरुद्ध, सयौं रोपनी धानखेत बगाएको थियो ।

    २०७७ साउन ३० बिहान जुगल गाउँपालिका–२ गोल्चेस्थित लिदीमा गएको भीषण पहिरोमा ३७ घर पुरिएका र पहिरोले पुरिएर बेपत्ता भएका ३९ जनाको मृत्यु भएको थियो । यति भयानक घटना हुँदा समेत कम्युनिस्ट सांसदहरू टुलुटुलु हेरेर बसेका छन् ।

    बाढीपहिरोको जोखिमबारे पहिल्यै थाहा हुने र पूर्व तयारी गरे क्षति न्युनिकरण गर्न सकिने भएपनि कम्युनिस्ट सांसदहरूल केही काम गरेनन् । त्यसको प्रतिफल स्वरूप सिन्धुपाल्चोकमा यस वर्ष फेरि बाढीले बितण्डा मच्चायो ।

    २०७८ असार १ गते साँझदेखि सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, ब्रह्मायणी र भोटेकोशीमा भिषण बाढी आउँदा मेलम्ची खोलाले तिम्बु, चनौटे र मेलम्ची बजारमा ठूलो क्षति पुगेको छ । ईन्द्रावतीले मेलम्ची–नवलपुर जोड्ने पक्की पुल बगाएको र मेलम्ची बजारमा ठूलो क्षति पुगेको छ ।

    तर कम्युनिस्टहरू वर्षैपिच्छे रमिते बनिरहेका छन् । सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामाङको पार्टी नेकपा एमालेका प्रवक्ता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले बुधबार प्रेस वक्तव्य जारी गर्दै सिन्धुपाल्चोक लगायत जिल्लामा प्राकृतिक विपद्बाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । 

    जिल्लास्थित विपद् व्यवस्थापन समितिले सम्भावित जोखिम क्षेत्र पहिचान गरेर जोखिम व्यवस्थापनका लागि कार्ययोजना बनाई सरकारलाई बजेट माग्दा समेत बजेट नदिएको र पूर्व तयारी नगरेको कारण अहिले विपद्ले जनधनको ठूलो क्षति गरेको छ । बजेट नदिएर पूर्व तयारी नगरी जोखिमलाई पर्खिरहने र निम्तो दिइराख्ने सरकार सम्हालेको एमाले पार्टी अहिले मृतकप्रति श्रद्धाञ्जलि दिएर बसेको छ ।

    प्रवक्ता ज्ञवालीले विपद्मा ज्यान गुमाएका मृतकका परिवारका लागि राहत उपलब्ध गराउन, बेपत्ताको खोजी गर्न र बाढीले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारसँग आग्रह समेत गरेका छन् ।

    ओली सरकारले पूर्व तयारी र सावधानी नअपनाउँदा हरेक वर्ष प्राकृतिक विपद्ले क्षति पुर्‍याउने गरेको छ । देशभर बाढी, पहिरोका जोखिमयुक्त क्षेत्र पहिचान भएका, बस्ती स्थानान्तरण गर्नुपर्ने क्षेत्र समेत पहिचान भएका बेला सरकारले कुनै योजना कार्यान्वयन नगर्दा क्षति बढी हुने गरेको छ ।

    चुनावका बेला जनतालाई बाँडिएको समृद्धिको सपना अग्नि सापकोटा र शेरबहादुर तामाङका लागि आएको छ, जनताले अकालमै ज्यान गुमाइरहेका छन् । कम्युनिस्टको झूट पर्दाफास भएको छ ।

    ul.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend