काठमाडौं - एमालेबाट निष्कासित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई आफ्ना चार युवा नेताले धोका दिने संकेत दिएका छन् ।
तिनै युवा नेताको भरमा नेपालले केपी ओलीसँग सिंगौरी खेल्दै आएका थिए । तर, शीतल निवास र बालुवाटारको ठूलै आश्वासन र मन्त्रणापछि योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टले माधव नेपालको साथ छाड्ने संकेत दिएका छन् । त्यसैले आजका दिनसम्म पनि चारै नेताले माधव नेपाललाई नयाँ पार्टी खोल्न रोक्दै आएका छन् ।
एमाले फुट्न दिन नहुने र संघर्ष जारी राख्नुपर्ने भन्दै उनीहरुले सहमतिको प्रयास जारी राखेका छन् । तर, यी चार नेतालाई एमालेमै राखेर माधव, झलनाथ खनाल, भीम रावल, युवराज ज्ञवालीलगायतलाई भने पार्टीबाट आउट गर्नुपर्ने पक्षमा शीतल निवास र बालुवाटारको एउटै मत रहेको बताइएको छ ।
केही दिनदेखि योगेशलगायतका नेताहरूलाई शीतल निवास बोलाएर एमालेकी तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारीले माधव नेपाललाई साथ नदिन दबाब दिएको एमाले नेताहरु बताउँछन् । त्यसैले बिष्ट र भट्टराईको पछिल्लो भूमिकाप्रति नेता नेपाल असन्तुष्ट बनेको बताइन्छ । बुधबार आफूनिकट भ्रातृसंघ संगठनका युवा नेताहरुसँगको छलफलमा नेपालले कोही नेता ओलीसँग जान सक्ने भए पनि आफू नरोकिने स्पष्ट पारेका छन् ।
योगेशसहितका युवा नेता रोक्न पाए माधव, झलनाथ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली नभए पनि एमाले चलाउन सकिने निचोडमा शीतल निवास र बालुवाटार पुगेको बताइन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।