काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनतालाई कोरोना भाइरस विरुद्धको खोप दिन नसकेको भनेर आलोचना भइरहेका बेला नेपाली कांग्रेसबाट निर्वाचित पाल्पाको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले आफैं खोप किनेर नगरबासीलाई लगाउने निर्णय गरेका छन् ।
नगरपालिकाको निर्णयपछि मेयर थापाले अनुमति माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निवेदन दिएका छन् ।
ओली सरकारले खोप उपलब्ध गराउन समय लाग्ने बताएपछि मेयर थापाले भारतबाट आफैंले समन्वय गरेर खोप ल्याउन स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीसँग अनुमति मागेका छन् ।
कांग्रेसबाट निर्वाचित मेयर थापाले भने, ‘रामपुर नगरपालिकाले आफ्ना सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिन चाहेको छ । यसका लागि यसअघि नेपाल सरकारले खरिद गरेको मूल्य र मापदण्डअनुसार ५० हजार डोज खोप खरिद गर्न स्वास्थ्य मन्त्रालयसँग अनुमति मागिएको छ । स्वास्थ्य मन्त्रीज्यूलाई भेटेरै निवेदन दिएका छौं । उहाँ सकारात्मक हुनुहुन्छ ।’
मेयर थापाले भारतमा रहेका अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष तथा नगरबासी सन्दीप रानाले खोप ल्याउन समन्वय गर्नसक्ने भनेकाले खोप खरिद गर्न अनुमति मागिएको जानकारी दिए ।
सरकारसँग अनुमति मागसँगै खोप खरिद प्रक्रिया अगाडि बढाइएको र खर्चको प्रबन्ध पनि पालिकाले नै गर्ने मेयर थापाले बताए । ‘कि संघीय सरकारले समयमै उपलब्ध गराइदिनुपर्यो, होइन भने हामी नै खरिद गर्छौं, त्यसका लागि अनुमति दिनुपर्यो,’ उनले भने । मेयर थापाले यसपालि विकास बजेट कटाएरै भए पनि खोप खरिद गर्ने योजना बनाएका छन् ।
मेयर थापाले भने, ‘विपद् व्यवस्थापन कोषमा १ करोड रुपैयाँ छ । यो वर्ष विकास बजेट पनि खर्च हुन सकिरहेको छैन भने पालिकाहरूले नै खोप खरिद गर्न सक्छन् । विकास अर्को वर्ष गरौंला, पहिले नागरिकको स्वास्थ्य बचाऔं भन्ने योजना बन्यो ।’
नगरपालिकाले रामपुरमा २० शय्या, वडा नम्बर १, ९ र १० मा ५/५ शय्याको आइसोलेसन सेन्टर तयार गरेको छ । चालू आर्थिक वर्षमा १५ करोड रुपैयाँको हाराहारीमा विकास बजेट विनियोजन भएको मेयर थापाले बताए । स्थानीय तहले सक्ने जति पहल गर्न दिने र त्यसमा संघीय सरकारले वातावरण मिलाइदिने हो भने धेरै छिटो खोप आउने उनले बताए ।
‘स्थानीय सरकारले आफैं खोप खरिद गर्ने अधिकार छैन, स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिएर खरिद गर्ने प्रक्रिया अगाडि बढाउन मन्त्रीजीले भन्नुभएको छ,’ थापाले भने ।
आवश्यक खोप खरिद गर्न देशविदेशबाट रामपुरबासीले पनि सहयोग गर्न चासो दिइरहेकाले आर्थिक रूपमा समस्या नहुने मेयर थापाले जानकारी दिए ।
‘प्रत्येक स्थानीय तहले कोरोना माहामारीमा बल लगाउने हो भने यसले भयावह रूप लिने थिएन, किन त्यसरी समन्वय हुन सकेन भनेर स्वास्थ्यमन्त्रीसँग प्रश्न पनि गरेको छु,’ मेयर थापाले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।