काठमाडौं – नेकपा एमालेको अल्पमतको सरकार बनाएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका छन् ।
प्रदेश सभाको ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिने तयारी गरेका छन्, जसमा युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ‘दिपक मनाङे’ समेत दोहोरिने भएका स्रोतले जनाएको छ ।
मनाङेसँगै यसअघि आर्थिक मामिला तथा योजना मन्त्रीमा किरण गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्रीमा रामशरण बस्नेत, सामाजिक विकास मन्त्रीमा नरदेवी पुन, पर्यटन, उद्योग, वाणिज्य तथा वनमन्त्रीमा विकास लम्साल दोहोरिने भएका छन् ।
मन्त्री बन्ने निश्चित भएपनि दिपक मनाङेले शपथका लागि बुधबारै पोखरा आउन नभ्याउने जनाएका छन् । उनी काठमाडौंमा रहेका कारण पोखरा आउन नभ्याउने जानकारी मुख्यमन्त्री कार्यालयमा दिएका छन् ।
नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएपछि गण्डकीमा प्रदेशमा २ वटा मन्त्रालय खाली रहेका थिए । चुमान कानून मन्त्री रहेका थिए भने थापा कृषि मन्त्री रहेका थिए । दुबैले चैत २५ गते राजीनामा दिएका हुन् ।
कोरोना भाइरस संक्रमणका कारण मुख्यमन्त्री गुरुङले नियुक्त भएको १ हप्तासम्म पनि मन्त्रिपरिषद् विस्तार गरेका छैनन् । संक्रमित भएकै अवस्थामा बैशाख २९ गते गुरुङले मुख्यमन्त्री पदको शपथ लिएका थिए । मुख्यमन्त्री गुरुङ हाल होम आइसोलेसनमा रहेका छन् ।
गण्डकीका प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा (३) अनुसार वैशाख २९ गते ठूलो दलका नेताका हैसियतमा गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । संविधानको धारा १६८ उपधारा (२) अनुसार बहुमतको सरकार बनाउन दिएको ३ दिनको समयभित्र बहुमतको सरकार गठन हुन नसकेको भन्दै पौडेलले गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।