काठमाडौं - प्रधानमन्त्री केपी ओलीले विश्वासको मत गुमाएसँगै नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई दिएको समयसीमा आज सकिँदैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा विपक्षी गठबन्धन सरकार बनाउने तयारी छ ।
देउवाको नेतृत्वमा बहुमत पुर्याउन एमालेको माधव नेपाल समूहलाई सामुहिक राजीनामा गर्न लगाउने र त्यसको बदलामा ७ वटा मन्त्रालय दिने समझदारी भएको छ ।
त्यसैगरी जसपाको उपेन्द्र यादव पक्षलाई ३ वटा मन्त्रालय दिने समझदारी भएको छ । महन्थ ठाकुर पक्षले साथ नदिँदा अफ्ठेरोमा परेको विपक्षी गठबन्धनका लागि गाँठो फुकाउने कदम माधव नेपालको राजीनामा हुनेछ ।
यसमा उपेन्द्र यादव र बाबुराम भट्टराई सक्रिय छन् । यसको फलमा उनीहरुले ३ वटा मन्त्रालय पाउने भएका हुन् । ३ वटा मन्त्रालयमा उपप्रधानमन्त्रीसहित एक मन्त्रालय यादवले आफै सम्हाल्ने छन् । त्यसैगरी एक मन्त्रालय रामसहाय यादवलाई दिनेछन् । अर्को डा. सुरेन्द्र यादवलाई दिने उपेन्द्रको तयारी छ । त्यसैगरी रेनुका गुरुङलाई राज्यमन्त्री बनाउने उपेन्द्रको योजना छ ।
विगतमा प्रदीप यादव र इस्तियाक राईहरुले पार्टी फुटाउन तयारी गरेकाले उनीहरुको हैसियत देखाउन उपेन्द्रले मन्त्रीमा आफ्ना र बाबुरामका भित्रियालाई नियुक्त गर्न लागेका हुन् ।
सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार बनाउन तीन दिनको समय दिएकी थिइन् ।
समयअनुसार विपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्ष आज राती ९ बजेभित्र बहुमत पुर्याएर नयाँ सरकारका लागि राष्ट्रपतिसामू दाबी पेश गर्नुपर्नेछ । विपक्षी दलहरु बहुमत पुर्याउने कसरतमा छन् ।
बिहीबार राति ९ बजेसम्म वैकल्पिक गठबन्धन सरकारको दाबी नपुगे राष्ट्रपति भण्डारीले संसदको ठूलो दलको हैसियतले संविधानको धारा ७६ (३) अनुसार केपी ओलीलाई नै अल्पमतको प्रधानमन्त्री नियुक्ति गर्नेछिन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।