काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ सरकार गठनका लागि आह्वान भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन कसरत भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा) नेपालभित्रको किचलोले असहज भइरहेको छ ।
जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेपछि देउवालाई प्रधानमन्त्री बन्न अप्ठ्यारो परेको थियो तर अब नेकपा एमालेका २० सांसद राजीनामा दिन तयार भएपछि देउवा प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।
एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका २० सांसदले राजीनामा गर्ने भएका छन् । नेता नेपाल पक्षका सांसदले राजीनामा दिने भएपछि अब जसपाको महन्थ ठाकुर पक्षले जेसुकै निर्णय गरेपनि कांग्रेस सभापति शेरबहादुर देउवाका लागि सरकार बनाउन बहुमत पुग्ने भएको छ ।
प्रधानमन्त्री ओलीले संसदमा बहुमत गुमाएपछि देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन एमालेको नेपाल पक्षको सहयोग अपरिहार्य हुने भएपछि कांग्रेसले राजीनामा गराएरै छाड्ने योजना बनाएको छ । एमाले सांसदले देउवालाई सघाउनभन्दा पनि पार्टीमा एकलौटी गर्दै आएका ओलीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्न राजीनामा गर्ने तर्क नेपाल पक्षको छ ।
ओलीसँग विवाद चर्किएपछि नेता नेपाल पक्षले कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसँग पटक–पटक छलफल गरिसकेका छन् । ओलीसँग असन्तुष्ट रहेकै कारण बैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत दिने दिनको मतदानमा नेपाल पक्षका २८ जना सांसद अनुपस्थित रहेका थिए । नेपाल पक्षका सांसदले मत नदिएको र जसपा समेत सरकारको विपक्षमा गएपछि ओली विश्वासको मत पाउन नसकेर पदमुक्त भएका हुन् ।
नेता नेपालले बहुमतको सरकारको सुनिश्चितताका लागि आफूसहित २० प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिने जानकारी देउवालाई दिइसकेका जनाइएको छ । यसअघि राजीनामा दिन नहुने तर्क गरेका सांसदहरू योगेश भट्टराई, गोकर्ण बिष्ट र घनश्याम भुसाल लगायत समेत राजीनामा दिन तयार भइसकेका एमाले स्रोतले जनाएको छ ।
देउवालाई सहयोग पुग्ने गरी राजीनामा दिने सांसदलाई उपनिर्वाचनबाट जिताउने सुनिश्चितता नेपाली कांग्रेस र माओवादीले गर्ने भएका छन् । उपनिर्वाचनमा यी दुई पार्टीले आफ्ना उम्मेदवार नउठाएर नेपाल पक्षका उम्मेदवारलाई सहयोग गर्नेछन् ।
यस्तै अभ्यास बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा सुरु भइसकेको छ । नेपाल पक्षका उम्मेदवार खिमलाल देवकोटालाई समर्थन जनाउँदै कांग्रेस र माओवादीले आफ्ना उम्मेदवार उठाएका छैनन् ।
नेता नेपाल पक्षका २० सांसदले राजीनामा पत्रमा हस्ताक्षर गरेर नेता नेपाललाई बुझाइसकेका छन् । अब उपयुक्त समयमा नेता नेपालले राजीनामापत्र संसद सचिवालयमा बुझाउने जनाइएको छ ।
यी हुन् राजीनामा दिने सांसद र खाली हुने निर्वाचन क्षेत्र –
झलनाथ खनाल – इलाम १
माधवकुमार नेपाल – काठमाडौं २
योगेश भट्टराई – ताप्लेजुङ
जयकुमार राई – सुनसरी १
भवानी खापुङ – तेह्रथुम
यज्ञराज सुनुवार – ओखलढुंगा
गणेश पहाडी – सिन्धुली १
पवित्रा निरौला खरेल – झापा २
जीवनराम श्रेष्ठ – काठमाडौं ८
नारायण खतिवडा – नुवाकोट १
विरोध खतिवडा – मकवानपुर २
सुरेन्द्र पाण्डे – चितवन १
घनश्याम भुसाल – रुपन्देही ३
गोकर्ण विष्ट – गुल्मी १
मेटमणि चौधरी – दाङ–१
झपट रावल – कैलाली–२
दीपकप्रकाश भट्ट – कञ्चनपुर ३
भीम रावल – अछाम १
कृष्णलाल महर्जन – ललितपुर २
सोमप्रसाद पाण्डे – पाल्पा २
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।