बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कोरोना संक्रमण यतिधेरै कसरी फैलियो ? कांग्रेसले गर्‍यो पर्दाफास

कोरोना संक्रमण यतिधेरै कसरी फैलियो ? कांग्रेसले गर्‍यो पर्दाफास

  • मिडिया डबली
  • शनिवार, बैशाख १८ २०७८

  • 4.2K
    SHARES

  • कोरोना संक्रमण यतिधेरै कसरी फैलियो ? कांग्रेसले गर्‍यो पर्दाफास

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको गम्भीर लापरबाहीका कारण मुलुकमा कोरोना भाइरसको संक्रमण उच्च बन्न पुगेको जनाएको छ ।

    सभापति शेरबहादुर देउवाले शुक्रवार आफ्नै निवास बुढानीलकण्ठमा पत्रकार सम्मेलन गर्दै संक्रमण घटाउन र रोगबाट जनतालाई जोगाउन लाग्नुपर्ने सरकार नै उद्घाटन र भीडभाड जम्मा गर्न सक्रिय हुँदा अहिलेको अवस्था आएको दाबी गरेका छन् ।  

    अत्यन्त कम पीसीआर परीक्षण हुँदा पनि ३७ प्रतिशत संक्रमित देखिनुले संक्रमणको अवस्था सहजै अनुमान लगाउन सकिने भन्दै नेपाली कांग्रेसका सभापति देउवाले आईसीयू शय्या, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेको जनाएका छन् । यस्तो अवस्था आउनुमा सरकारको चरम लापरबाही, असंवेदनशीलता र अकर्मण्यता जिम्मेवार रहेको भन्दै देउवाले भने, ‘अधुरा कामलाई पूरा भएको भन्दै उद्घाटन, भीडभाड र तडकभडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकाले अहिलेको स्थितिमा पुगेको छ ।’

    सरकारले विगतका गल्तीबाट नसिक्दा र आफ्नो दलसहित सरोकारवालाको सुझावलाई पनि आत्मसात् नगर्दा काठमाडौं उपत्यका लगायतका ठाउँहरुमा १५ दिने लकडाउन लगाउने निर्णय गरेको देउवाले बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणका कारण जनताले भोगिरहेका समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रबन्ध मिलाएर लकडाउनको समयलाई पूर्ण रुपमा सदुपयोग गर्न कांग्रेसले माग गरेको छ ।

    कोभिड–१९ संक्रमितको उपचारका लागि अत्यावश्यक अक्सिजन र भेन्टिलेटरको यथेष्ट आपूर्ति तत्काल सुनिश्चित गर्न माग गर्दै कांग्रेसले अस्पताल शय्या, आईसीयू शय्या लगायतका स्वास्थ्य पूर्वाधार, अत्यावश्यक औषधि र अन्य आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था मिलाउनुपर्नेमा कांग्रेसले जोड दिएको छ ।

    कन्ट्याक ट्रेसिङ प्रभावकारी बनाई सम्भावित संक्रमितको पीसीआर परीक्षणलाई व्यापक बनाउन भन्दै कांग्रेसले सीमा नाकामा अनिवार्य पीसीआर परीक्षण र परीक्षणको नतिजा नआउञ्जेल होल्डिङ केन्द्रहरुमा राख्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

    परीक्षणमा संक्रमित देखिएकालाई स्थानीय निकायको समन्वयमा आइसोलेसन केन्द्रमा राख्न माग गर्दै कांग्रेसले भनेको छ, ‘स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीलाई बिमा र जोखिम भत्ता तत्काल कार्यान्वयन गरियोस् । बढ्दो संक्रमणसँगै स्वास्थ्य जनशक्तिको अभाव देखिएकाले अस्पतालहरुमा थप जनशक्तिको व्यवस्था गरियोस् ।’

    सरकारले पूर्वाग्रही ढंगबाट लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राखेको भन्दै कांग्रेसले तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था गर्न आग्रह गरेको छ । खोप आपूर्तिसहित अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्ति सुनिश्चित गर्न सरकारले प्रभावकारी कूटनीतिक पहल नगरेको जनाउँदै कांग्रेसले लकडाउनको समयमा पनि किसानका कृषि उपज तथा अन्य उपभोग्य वस्तुको आपूर्ति र आवतजावतलाई सहज बनाउन समेत आग्रह गरेको छ ।

    कांग्रेसले विदेशमा जानेहरुलाई आवश्यक पीसीआर परीक्षण गर्ने अस्पतालको संख्या बढाउन, लकडाउनका कारण आर्थिक सामाजिक मारमा परेका आमनागरिक, श्रमिक र साना व्यवसायीलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याउन पनि सरकारसँग माग गरेको छ । मास्क अनिवार्य लगाउने, साबुन पानीले हात धुने, भौतिक दूरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न अनुगमन संयन्त्र मजबुत बनाउन आग्रह गरेको कांग्रेसले पार्टीका सबै संरचनालाई देशभरि सचेतना अभियान सञ्चालन गर्न क्रियाशील बनाउने निर्णय गरेको छ ।

    कोरोनाबाट संक्रमित भई उपचारको पहुँचमा पुग्न समस्यामा परेकालाई हरसम्भव सहयोग गर्न पार्टीका निकायलाई आग्रह गर्दै सभापति देउवाले लकडाउनका कारण आर्थिक सामाजिक समस्या परेकालाई विगतमा जस्तै सहयोग अभियान चलाउन निर्देश गरेका छन् । आजको नागरिक दैनिकमा समाचारमा प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend