काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन नयाँ सत्ता समीकरण बनेपछि गण्डकी प्रदेशसभा संसदीय दल सक्रिय बनेको छ ।
गण्डकी प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री पाउने सहमति सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको थियो । सोही अनुसार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।
नेपाली कांग्रेसले गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिसकेको छ । भोलि आईतबारदेखि प्रदेशसभा विशेष अधिवेशन सुरु हुँदैछ, जसमा अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ ।
भोलि प्रदेशसभा बस्नुअघि नै आज शनिबार नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालले आन्तरिक तयारी गरेका छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारलाई विस्थापन गरेर गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन यसअघि नै नेपाली माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा (राजमो) र जसपाले सहमति जनाइसकेका छन् ।
मुख्यमन्त्री गुरुङको विपक्षमा बहुमत देखिएकाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने निश्चित देखिएको छ । कर्णाली प्रदेशमा जस्तो फ्लोर क्रस नभए कांग्रेस नेता नेपाली मुख्यमन्त्री बन्ने देखिएको छ ।
बैशाख २ गते गण्डकी प्रदेशमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेको अविश्वासको प्रस्तावमा नेता नेपालीलाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।