काठमाडौं – नेकपा माओवादी केन्द्रले २ नम्बर प्रदेशको संसदीय दलमा नयाँ नेता छानेको छ ।
प्रदेशसभा संसदीय दलको बैठकले सांसद भरतप्रसाद साहलाई दल नेता चयन गरेको हो ।
माओवादी केन्द्रको संसदीय दलको शुक्रबार बसेको बैठकले साहलाई दलको नेतामा सर्वसम्मतले चयन गरेको छ ।
संसदीय दलको बैठकबाट उपनेतामा जगतप्रसाद यादव, प्रमुख सचेतकमा दिलीप साह, सचेतकमा रुवी कर्णलाई चयन गरिएको छ । माओवादी पार्टीको २ नम्बर प्रदेशमा ११ जना प्रदेशसभा सदस्य रहेका छन् । जसमध्ये ४ जना नेकपा एमालेमा प्रवेश गरिसकेका छन् ।
विगतमा रामचन्द्र मण्डल संसदीय दलको नेता रहेकोमा उनी नेकपा एमालेमा गएपछि पद रिक्त रहेको थियो । खाली पदमा आफू चयन भएको भरतप्रसाद साहले बताएका छन् ।
साहले आज शुक्रबारको बैठकबाट एमालेतर्फ गएका ४ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय भएको बताएका छन् ।
सर्वोच्च अदालतको आदेशपछि नेकपा एकता बदर भएर नेकपा माओवादी केन्द्र र नेकपा एमाले ब्युँतिएपछि ४ जना नेताहरू माओवादी केन्द्रमा नफर्किएर नेकपा एमालेतर्फ लागेका छन् । एमालेतिर लागेका नेताहरूलाई स्पष्टीकरण सोधिएको साहले बताएका छन् ।
स्पष्टीकरण सोधिएका सांसदहरूमा रामचन्द्र मण्डल, ज्वाला साह, मो समिर र कुन्दन कुशवाहा रहेका छन् । सांसदहरू पार्टीमा नफर्किएको खण्डमा प्रदेशसभा सदस्यता खारेजको प्रक्रियाको थालनी गरिने दल नेता साहले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।