काठमाडौं - प्रधानमन्त्री केपी ओलीलाई सत्ताच्यूत गर्न अहिले विपक्षी दलहरूबीच छलफल र बैठक तीव्र बनेको छ । तर, अझै कुनै ठोस निकास निस्कन सकेको छैन ।
दलहरूबीच जतिबेलासम्म सहमति जुट्दैन, तबसम्म प्रधानमन्त्री ओलीको सत्ताको आयु लम्बिने स्पष्ट छ । यतिबेला सत्ताको किङ मेकर जसपा बनेको छ । जसपा सत्ता निर्माणका लागि अहिले प्रधानमन्त्री ओलीदेखि काँग्रेस र माओवादी केन्द्रसँग छलफलमा जुटेको छ।
सत्ता समीकरणका लागि बालुवाटारदेखि बुढानिलकण्ठसम्म धाए पनि जसपाकै संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो पार्टी कसैको पुच्छर नभएको दाबी गरेका छन्। बाबुरामले जसपाबारे जान्नै पर्ने कुरा भन्दै तीन बुँदा ट्वीट गरेका छन्।
प्रधानमन्त्री केपी ओलीको सरकारको विकल्प खोजी जारी रहेको बेला बाबुरामले जसपालाई तासको जोक्कर नठान्न आग्रह गरेका हुन्। उनले सत्तारुपी जुवाको खालको च्याँखेदाउ थाप्ने खेलाडी जसपा नभएकोसमेत प्रस्ट्याएका छन्।
बाबुरामले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रविरुद्ध कसैसँग सम्झौता नगर्ने बताएका छन्।
जसपाबारे जान्नैपर्ने कुरा:१.यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी हैन;बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो!२.गणतन्त्र,.संघीयता,धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र विरूद्ध कसैसंग सम्झौता गर्दैन;३.यो कसैको पुच्छर हैन,आफै देशको नेतृत्व गर्ने शक्ति हो।
— Baburam Bhattarai (@brb1954) March 13, 2021
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।