शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईले देखेको त्यो सपना, यसरी पूरा हुँदै

कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईले देखेको त्यो सपना, यसरी पूरा हुँदै

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २३ २०७७

  • 7.2K
    SHARES

  • कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईले देखेको त्यो सपना, यसरी पूरा हुँदै

    काठमाडौं – २०४८ सालको आम निर्वाचनमा नेता कृष्णप्रसाद भट्टराई काठमाडौं–१ बाट उम्मेदवार थिए । चुनावी प्रचारप्रसारका क्रममा खानेपानी समस्या व्यहोरिरहेका मतदातालाई आफूतिर तान्न उनले ‘मेलम्ची ल्याएर राजधानी पखाल्छु’ भन्ने नारा अघि सारे । ठट्यौला भट्टराईको यो नारालाई धेरैले ठट्टाकै रूपमा लिएका थिए ।

    २०५१ सालको मध्यावधि निर्वाचनमा समेत काठमाडौं–१ र पर्साबाट चुनाव लडेका उनले फेरि पनि भट्टराईले मेलम्चीको पानीले राजधानी धुने नारा लगाउन छाडेनन् ।

    यतिसम्म कि भाबी प्रधानमन्त्रीका रुपमा २०५६ सालको संसदीय निर्वाचनमा पर्साबाट उठ्दा वीरगञ्जको सभालाई सम्बोधन गर्दा उनले ‘मेलम्चीले काठमाडौं पखाल्छु’ भन्न बाँकी राखेनन् ।

    वीरगञ्जबासीका लागि त्यो नाराले खासै अर्थ राख्दैनथ्यो । त्यसकारण उनी त्यहाँ पनि मजाकका पात्र बने । मेलम्ची खोला राजधानी पुर्‍याउने विषय नै अपत्यारिलो थियो । त्यसैले भट्टराईलाई हाँसोमा उडाउनु अस्वाभाविक थिएन । तर उनै भट्टराईले देखेको मेलम्ची सपना २ दशक नाघेसँगै साकार भएको छ ।

    मेलम्चीको पानी शनिवार सुन्दरीजल ओर्लेसँगै हिजो नेता भट्टराईलाई उडाउनेहरु आज उनैलाई सम्झिरहेका होलान् । जेहोस्, अब उपत्यकाबासीका घरघरमा मेलम्ची पुग्ने विश्वास बलियो भएको छ ।

    काठमाडौं उपत्यकामा खानेपानीको दीर्घकालीन स्रोत खोजी हुन थालेको करीब ५ दशक भयो । बिस्तारै उपत्यकाको जनघनत्व बढ्दै थियो। विभिन्न जिल्लाबाट अध्ययन, रोजगारी, व्यवसायका लागि राजधानी छिर्नेको लर्को लामो हुँदै जान थालेको थियो ।

    घर निर्माणले तीव्रता लियो, बाग्मती र आसपासका नदी दोहनले भूमिगत पानी सुक्दै गयो । सन् १९७० को दशकदेखि उपत्यकामा खानेपानीको समस्या देखियो । त्यसपछि वैकल्पिक स्रोत खोज्न थालियो । त्यतिबेलै उपत्यकाको खानेपानी वितरण सुधार्न खानेपानी तथा ढल निकास विकास समिति बन्यो । एडीबीको आर्थिक सहयोगमा काम गरेको समितिले खानेपानीको दीर्घकालीन स्रोत नखोजे उपलब्ध पानीले उपत्यकालाई नधान्ने निष्कर्ष निकालेको थियो ।  

    सन् १९८८ मा ब्रिटिस कम्पनी विनियम पार्टनरलाई खानेपानीको वैकल्पिक स्रोत पहिचान गर्ने जिम्मा दिइयो । समितिले २० वटा विकल्प प्रस्तुत गरेको थियो – रोसी खोला, त्रिशूली नदी, लाङटाङ, कुलेखानीलगायत खोलाको पानी पम्प गर्ने वा मेलम्ची पानी सुरुङमार्फत ल्याउने ।

    मेलम्ची पहिलो नम्बरमा थियो । २०४६ सालको राजनीतिक परिवर्तनपछि कांग्रेस नेता भट्टराईले प्राथमिकताको १ नम्बरमा परेको मेलम्चीलाई चुनावी नाराका रुपमा बहसमा ल्याइरहेका थिए । सन् १९९८ मा अस्ट्रेलियाको स्प्रे माउन्टेनलगायत कम्पनीले मेलम्चीको फिजीबिलिटी स्टडी गरे भने नरप्लान्टले विस्तृत सर्भे गर्‍यो । यसअघि नै यससम्बन्धी काम गर्न २०५३/५४ तिर मेलम्ची वाटर लिमिटेड गठन गरिएको थियो ।  

    २०५५ सालमा आयोजना कार्यान्वयन गर्न मेलम्ची खानेपानी विकास समिति गठन गरियो । त्यसको २ वर्षपछि सन् २००० बाट दैनिक १७ करोड लिटर पानी भित्र्याउने लक्ष्यसहित विधिवत् रुपमा मेलम्ची खानेपानी आयोजना सुरू भयो । नरप्लान्टले गरेको अन्तिम डिजाइनका आधारमा एशियाली विकास बैंक (एडीबी) र विकास समितिबीच १२० मिलियन अमेरिकी डलर ऋण सम्झौता भएपछि पूर्वाधार निर्माणको कामबाट आयोजना अघि बढ्यो ।

    विनियम पार्टनरले दिएका २० मध्ये १९ विकल्प ‘पम्पिङ’ (तान्ने) मा आधारित थियो । सुरुङको तुलनामा विद्युत् शक्ति खपत हुने हुँदा पम्पिङ ज्यादा महंगो पर्न जान्थ्यो । त्यसैले सुरुङमार्फत पानी ल्याउन सकिने मेलम्ची पहिलो प्राथमिकतामा परेको थियो । नजिकका लार्के र यांग्री नदी पनि एउटै सुरुङमा छिराएर लैजान सकिने विकल्प समेत भएपछि मेलम्ची नै रोजाइमा परेको थियो ।

    मेलम्चीबाट दैनिक १७ करोड पानी लगेर काकाकुल उपत्यकाबासीको प्यास मेट्न २ दशकअघि थालिएको आयोजना सरकारी लक्ष्य अनुसार १३ वर्षअघि नै सम्पन्न भइसक्नुपथ्र्यो । तर मेलम्ची पूरा हुन थप ९ वर्ष लाग्यो । किन भयो ढिलाइ ? कारण एउटा मात्र छैन ।

    विभिन्न माग राखेर अवरोध गर्ने स्थानीयदेखि दीर्घकालीन योजना बनाउन नसक्ने सरकारसम्म यसमा जिम्मेवार छन् । सन् २००७ मा आयोजना सम्पन्न गर्ने सरकारको पहिलो लक्ष्य थियो । आयोजनाको नेतृत्व गरेका अधिकारीहरुको अनुभवमा यति छोटो अवधिमा आयोजना सक्ने लक्ष्य सहितको कार्ययोजना नै त्रुटिपूर्ण थियो ।  

    पहिलो लक्ष्य अवधिमा सम्भाव्यता अध्ययन, स्थानीय स्तरमा सडक लगायत पूर्वाधार निर्माणको काम नै सकिएन । मुख्य दाता एडीबीसँगको ऋण सम्झौता अवधि नै समाप्त भयो । पहिलो लक्ष्य अवधि मुख्य संरचना निर्माणमा नपुग्दै गुज्रेपछि एडीबीले यथास्थितिमा ऋण अवधि बढाउन चाहेन ।

    आयोजना नै अन्योलमा पर्‍यो । सन् २००८ मा आयोजना पूरै पुनःसंरचना गरेर सन् २०१३ भित्र मेलम्ची उपत्यका लैजाने दोस्रो लक्ष्य राखिएको थियो ।

    पहिलो लक्ष्यको २ वर्षपछि बल्ल सुरुङ निर्माण प्रक्रिया अघि बढ्यो । चाइना रेल्वे १५ ब्युरो ग्रूपले कर समेत ४ अर्ब २८ करोड ८८ लाख रुपैयाँमा सन् २००९ अप्रिलमा साढे २६ किलोमिटर सुरुङ खन्ने ठेक्का पायो । सन् २०१३ सेम्टेम्बर २ मा सुरुङ सक्ने गरी चिनियाँ कम्पनीले २००९ अप्रिल २१ बाट काम थाल्यो । उसले सुरूदेखि नै सन्तोषजनक काम गर्न सकेन । कहिले ठेक्का रकम बढाउनुपर्ने त कहिले ठेक्का अवधि नै लम्ब्याउनुपर्नेजस्ता निहुँ ठेकेदारले झिकिरह्यो । यति हुँदाहुँदै उसले सन् २०१४ को डिसेम्बरमा सुरुङ सकेर २०१५ जुलाईमा सबै काम सम्पन्न गर्ने तालिका पेश गरेकोमा ३ वर्षमा बल्ल साढे ६ किलोमिटर सुरुङ खनेर ठेक्का अवधिको १ वर्षअघि नै सन् २०१२ मा एकतर्फी रुपमा ठेक्का तोडिएको घोषणा गर्‍यो ।

    ठेकेदारले काम गर्ने नदेखेपछि आयोजनाले सेम्टेम्बर २५ मा उससँगको ठेक्का रद्द गरेको थियो । यसपछि तेस्रोपटक आयोजना सम्पन्न गर्ने लक्ष्य सन् २०१६ सेप्टेम्बर पुग्यो, ठेक्का तोडिनु दुर्घटना नै थियो । यसले पनि आयोजनालाई पछि धकेल्न राम्रै काम गरेको हो ।

    २०७० असारमा नयाँ ठेकेदारका रुपमा इटालियन कम्पनी सीएमसी नियुक्त भयो । उसले पनि पटक–पटक सम्झौता अवधि लम्बाउने, विभिन्न बहानाबाजी बनाएर निहुँ खोज्ने काम गरिरहेको थियो । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प, भारतले लगाएको अघोषित नाकाबन्दी उसले व्यहोर्‍यो । अन्ततः ४ वर्ष लगाएर सीएससीले २०७४ चैत २९ गते साढे २६ किलोमिटर सुरुङ ‘ब्रेक थ्रू’ गर्न सफल भयो ।

    अन्तिममा सीएमसीले पनि अघिल्लो ठेकेदार कम्पनीकै नियति पुनरावृत्ति गर्दै २०७४ पुसमा एक पक्षीय रुपमा ठेक्का तोड्यो । आयोजनाकै सबैभन्दा बढी जलिट संरचना मानिएको सुरुङ मार्ग छेडेर उसले किन ठेक्का तोड्यो भन्ने प्रश्न अझै अनुत्तरित छ । कमिसनको चक्करमा लागेर राज्य संयन्त्रले नै उसलाई भाग्न बाध्य पारेको चर्चा समेत हुने गरेको छ ।

    आयोजनाको बाँकी काम गर्न २०७५ भदौमा तेस्रो ठेकेदार कम्पनीका रुपमा चिनियाँ सिनो हाइड्रो नियुक्त भयो । सुरुङको ‘फाइनल फिनिसिङ’ गर्ने र हेडवक्र्स बनाउने २ वटा ठेक्का उसले पाएको थियो । हेडवक्र्सबाहेक सुरुङको काम सकिएको छ । हेडवक्र्स निर्माण अन्तिमतिर पुगेको आयोजनाले जनाएको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend