काठमाडौं - पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपा दुई फ्याक भयो । ओलीले एउटा र प्रचण्डले अर्को समूहको नेतृत्व गरे ।
तर, नेकपाका उपाध्यक्ष वामदेव गौतम भने कतै पनि खुलेनन् । बरु उनले ओली र प्रचण्डको आलोचना गरिरहे । कतिसम्म आफ्नी श्रीमती र छोराहरू ओली समूहमा पठाएर वामदेवले आफूले भने नेकपा एकता अभियान घोषणा गरे ।
सो एकता अभियान अहिले कुन दुलोमा पस्यो ठेगान छैन । ओली र प्रचण्ड दुवैतिर नलागी वामदेव तठस्थ बस्नुको भित्री रहस्य भने कसैले पत्तो पाएको छैन । वामदेवमा पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने निकै ठूलो धोको छ ।
त्यसका लागि उनले भरमग्दुर प्रयास पनि गरेका हुन् । प्रतिनिधिसभामा पराजित भएपछि उनले उपनिर्वाचनबाट आएर केपी ओलीलाई विस्थापन गर्ने खेल पनि खेलेका थिए । तर, सफल भएनन् । वामदेवलाई प्रधानमन्त्री बन्ने हुटहुटी जगाउने प्रचण्ड नै हुन् ।
प्रचण्डले एकपटक भनेका थिए, ‘केपी ओली, झलनाथ खनाल, माधव नेपाल, बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाएँ, अब वामदेव गौतमलाई बनाउन बाँकी छ ।’ प्रचण्डको यही अभिव्यक्तिपछि वामदेव कहिल्यै पनि उनीसँग टाढा भएका छन् ।
अहिले वामदेव ओली समूह र आफ्नोमा नआउनुमा प्रचण्डकै सल्लाह भएको स्रोतले बताएको छ । प्रचण्डले वामदेवलाई बीचमा राखेर उनलाई जुनसुकै बेला बलियो हतियार बनाउने रणनीति लिएको नेकपाका नेताहरू बताउँछन् ।
बिहीबार बिहानै खुमलटार पुगेर वामदेवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नहुने सल्लाह दिए । वामदेवले नेकपाभित्रैबाट प्रधानमन्त्री बनाउनुपर्ने तर्क अघि सार्नुले पनि उनी प्रचण्डलाई प्रधानमन्त्रीका रूपमा देख्न चाहन्छन् भन्ने पुष्टि हुन्छ । प्रचण्ड सत्तामा बसेपछि आफ्ना उद्देश्य पूरा हुने वामदेवको ठम्याइँ छ ।
यस्तै, अहिले नेत्रविक्रम चन्द विप्लवसँगको सरकारको वार्ता अलपत्र परेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिएदिएपछि प्रधानमन्त्री केपी ओलीको चाहनामा धक्का लागेको छ ।
ओलीले विप्लवमाथिको प्रतिबन्ध फुकुवा गरेर आगामी निर्वाचनमा सहकार्यको रणनीति अपनाएका थिए । तर, उनलाई विप्लव प्रचण्डको इसारामा चल्छन् भन्ने थाहा छैन ।
नेकपाका नेताहरू विप्लवलाई सशस्त्र संघर्षमा पठाउने रणनीति प्रचण्डकै रहेको बताउने गरिन्छ । किनभने प्रचण्डले आफ्ना सबैभन्दा विश्वासपात्र विप्लवलाई नै मान्दै आएका छन् । प्रचण्ड नेतृत्वको सरकार बन्नेवित्तिकै उनले विप्लवमाथिको प्रतिबन्ध हटाउने बताइन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।