काठमाडौं - सत्तारुढ नेकपाको सचिवालय बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको छ । १३ गते बस्ने भनिएको बैठक पार्टीमा देखिएको अन्तर्विरोधसँगै १८ गतेसम्मका लागि सारिएको हो ।
सचिवालय बैठकलगत्तै प्रधानमन्त्री केपी ओली मन्त्रिपरिषद् पुनर्गठन गर्ने मनस्थितिमा छन् । २० गते जुनसुकै अवस्थामा पनि अर्थमन्त्रीको बारेमा प्रधानमन्त्री ओलीले निर्णय गर्नुपर्ने हुन्छ ।
किनभने सो दिन अर्थमन्त्री डा.युवराज खतिवडा मन्त्री बनेको ६ महिना पुग्दैछ । उनी सांसद होइनन् । संविधानतः सांसद नभएका व्यक्ति ६ महिना मात्र मन्त्री बन्न पाउने व्यवस्था छ ।
तर, त्यसका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमको स्वीकृति आवश्यक पर्छ । किनभने गत फागुन १४ गते नेकपा सचिवालय बैठकको निर्णयले वामदेवलाई राष्ट्रिय सभाको सांसद बनाउने निर्णय गरेको थियो ।
सो निर्णय अहिले पनि यथावत् छ । आफ्नी श्रीमती तुलसा थापा मन्त्री बन्ने कन्फर्म नभएसम्म वामदेवले मुख नखोल्ने स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओली युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने पक्षमा छन् । तर, गौतमले सांसद नबन्ने निर्णय गरे भने मात्र खतिवडाका लागि मार्गप्रशस्त हुनेछ ।
त्यही भएर अहिलेसम्म खतिवडा राष्ट्रिय सभा सांसद मनोनीत हुन नसकेका हुन् । स्रोतका अनुसार मन्त्रिपरिषद् पुनर्गठन हुँदा वामदेवको कोटामा एक मन्त्री बन्ने निश्चित रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।