काठमाडौं - प्रधानमन्त्री केपी ओली र राप्रपा अध्यक्ष कमल थापाबीच निकै राम्रो सम्बन्ध छ । २०७२ सालमा ओली प्रधानमन्त्री बनेका बेला थापा उपप्रधानमन्त्री थिए ।
ओलीकै कृपाले राप्रपाले प्रतिनिधिसभामा एक सिट जितेको छ । त्यसैले अहिले पनि उनी ओलीसँग मिलेर जानुपर्ने बताउँछन् । ओलीले हिन्दु राष्ट्र पुनःस्थापना गरिदिने भ्रममा थापा छन् ।
केही दिनअघि देशको राजनीतिक अवस्थाबारे बुझ्न थापा ओली भेट्न बालुवाटार पुगेका थिए । दुई घन्टासम्म दुई नेताबीच भेटवार्ता भएको बुझिएको छ ।
तर, भेटमा ओलीले जसरी भविष्यको राजनीतिक स्टेपबारे बोल्दै गए थापा स्तब्ध बनेको स्रोतले बताएको छ । ‘अध्यक्षज्यू बालुवाटारबाट ओलीलाई भेटेर फर्केपछि निकै हतास र चिन्तित बन्नु भाको छ । ओलीको खेल अर्कै रहेछ ।
उनको रणनीति असफल बनाउने अदालत मात्र हो, नत्र कांग्रेस र भारत सबैलाई ओलीले देखाइदिने छन्,’ राप्रपाका एक नेताले भने । बालुवाटारमा ओलीले थापालाई कुनै पनि हालतमा प्रतिनिधिसभा पुनःस्थापना नहुने दाबी गरेका थिए । ओलीको कन्फिडेन्टपछि थापाले पनि आयोग, अदालत, सुरक्षा निकाय सबैतिर सेटिङ भएको हो भन्ने निष्कर्ष निकालेको उनी निकट नेताहरूले बताउन थालेका छन् ।
पुस ५ गतेसम्म राजावादी, राप्रपालगायतका दक्षिणपन्थी समूह हरेक दिनजसो सडकमा नाराबाजी लगाउने गर्थे । कोही हिन्दु राष्ट्रको पुनःस्थापनाको माग राख्दै त कोही संवैधानिक राजतन्त्र स्थापना गर्नुपर्ने मागसहित सडकमा देखिन्थे ।
तर, जब ओलीले प्रतिनिधिसभा भंग गरे र निर्वाचनको मिति तोके, तब राजावादी र राप्रपाको गतिविधि ठप्प छ । अर्थात् राजावादी र राप्रपाले सडकमा जुलुस निकालेका छैनन् । राजा आऊ देश बचाऊ, हिन्दु राष्ट्रको नाराबाजी पनि गरेका छैनन् ।
दक्षिणपन्थी सबै ओलीको कदमको पक्षमा रहेको पुष्टि हुन्छ । ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी अदालतमा चलिरहेको मुद्दामा राजावादी कानुन व्यवसायीलाई बहस गर्न लगाउनुले यसको पुष्टि गर्छ ।
अहिले सिडिओ, एसपी सबै बालुवाटारले खटाउने, गृहमन्त्रीले डिएसपीसम्म सरुवा गर्न नसक्ने अवस्था छ । मन्त्रालयका नियुक्तिमा कुनै मन्त्रीको केही चल्दैन । सबैमा बालुवाटार हावी छ ।
ओलीले रक्षा मन्त्रालय आफैँसँग राखेका छन् । चुनावलाई मध्यनजर गरेर उनले रक्षा मन्त्रालय आफूसँग राखेको स्पष्ट छ । अख्तियारमा उनकै मान्छे प्रेमकुमार राई प्रमुख बनेर आउँदैछन् ।
निर्वाचन आयोगमा उनकै विश्वासपात्र छन् । यति सबै बुझेपछि अहिले कमल थापा राम्रोसँग सम्हालिन सकेका छैनन् । उनले आफू निकटस्थ नेतालाई भन्न थालेका छन्, ‘ओलीको वास्तविक अनुहार चुनावपछि मात्र थाहा हुन्छ, उनी कतिसम्म तानाशाह बन्न सक्छन् भन्ने ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।