काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर अनाधिकृत काम गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध शुक्रवार भक्तपुरमा आयोजित विरोध सभामा नेता थापाले नेपालको संविधानमा ५ वर्षअघि संसद विघटन गर्ने कुराको कल्पना समेत नगरिएको बताएका छन् ।
संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने कुरा कहीँकतै नलेखेको बताउँदै नेता थापाले प्रधानमन्त्री ओलीको कदम असंवैधानिकको साथै अनाधिकृत रहेको बताएका छन् ।
संविधानमा नलेखेको कुरा सार्वजनिक पदाधिकारीले गर्न नपाउने भन्दै नेता थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले अधिकार दिएकोबाहेक केही गर्न नपाइने बताए ।
सर्वोच्च अदालतले संविधान पल्टाएर हेरी फैसला गर्नुपर्ने र अदालतप्रतिको आस्था कायम राख्नुपर्ने थापाले बताए । नेता थापाले प्रधानमन्त्री ओलीले अदालतमाथि मनोवैज्ञानिक दबाब सिर्जना गरेको भन्दै अदालत डराउँदैन भन्ने प्रमाणित गर्नुपर्ने उनले बताए ।
उनले अदालतले संसद पुनर्स्थापना गर्ने र राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई घर पठाउने जनाएका छन् । असंवैधानिक कदमविरुद्ध कांग्रेस दह्रो गरी उभिने र देशलाई संवैधानिक संकटमा पर्न नदिने उनले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।