काठमाडौं - सत्तारुढ नेकपा औपचारिक रूपमा विभाजन भइसकेको छ । कानुनी वैधताका लागि निर्वाचन आयोग र अदालतले टुंगो लगाउने काम बाँकी नै छ ।
नेकपा विभाजनको एक कारकका रुपमा उपाध्यक्ष वामदेव गौतमलाई पनि मानिन्छ । उनलाई राष्ट्रिय सभा सदस्य बनाउने, विभिन्न पदको लोभ देखाउने गर्दागर्दै नेकपा विभाजनको तहसम्म आइपुगेको हो ।
अहिले तिनै वामदेव न त प्रधानमन्त्री केपी ओली पक्षतिर छन्, न त प्रचण्ड माधव नेपाल समूहतिर नै । उनले पार्टी एकताका लागि दबाब दिन तेस्रो धार बनाउने तयारी गरेका छन् ।
स्रोतका अनुसार आज (सोमबार) उनले तेस्रो समूहको घोषणा गर्दैछन् । नेकपाका नेता कार्यकर्ता तल्लो तहसम्मै दुई समूहमा विभाजन भइसके पनि वामदेव भने एकताका लागि ठाउँ बाँकी रहेको बताउँदै आएका छन् ।
उनले कानुनी आधारमा नेकपा विभाजन हुन नसक्ने दाबी गरेका छन् । अहिलेसम्म आफू चाहिँ कतै नखुलेका वामदेवले श्रीमती तुलसा थापालाई भने ओली क्याम्पमा पठाइसकेका छन् ।
उनकी श्रीमती तुलसा थापाले नेकपा ओली समूहको १११९ सदस्यीय केन्द्रीय समितिको सदस्यको सपथसमेत लिइसकेकी छन् । गौतमले छोरा हरिस गौतमलाई पनि ओलीतिरै पठाएका छन् । हरिस नेकपा ओली बर्दिया जिल्ला कमिटीमा सदस्य छन् ।
आफ्नी श्रीमती, छोरा र समर्थकलार्ई ओली समूहमा पठाएर वामदेव भने नेकपा एकता अभियानमा लागेका छन् । स्रोतका अनुसार अलि ठूलै बार्गेनिङ गर्ने, नपाए प्रचण्ड–माधव नेपाल समूहलाई गद्दार भन्दै वामदेव ओली समूहमा भित्रिने तयारीमा छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।