काठमाडौं - चार दिने नेपाल भ्रमण पूरा गरेर चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आज बेइजिङ फर्किएको छ ।
राष्ट्रपति सि जिन पिङले सत्तारुढ नेकपामा देखिएको विभाजन रोक्न आफ्ना विश्वास पात्रलाई नेपाल पठाएका थिए । काठमाडौं ओर्लेदेखि कम्युनिस्ट पार्टीका नेताहरू भेटेपछि टोली निराश बनेको थियो ।
प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतलाई भेटेको थियो । तर, सबैसँग निराश बनेको चिनियाँ टोली मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बुढानिलकण्ठ पुगेको थियो ।
कांग्रेस सभापति देउवासँगको भेटमा चिनियाँ टोलीले पूर्वप्रधानमन्त्री एवं कांगे्रेस नेता बिपी कोइराला सम्झँदै सबै पार्टीसँग सम्बन्ध सुदृढ गर्न नेपाल आएको बताएको थियो । प्रमुख प्रतिपक्षी दल कांग्रेस र चीनबीच पछिल्लो समय दूरी बढ्दै गएका बेला नेता गुओले कांग्रेससँग नेपाल–चीन सम्बन्धको पुरानो बिरासत जोडिएकोसमेत उल्लेख गरेका थिए ।
गुओले कांग्रेस सभापति देउवालाई चीन भ्रमणको निम्तोसमेत दिए । चिनियाँ राष्ट्रपति सिको निम्तो देउवालाई टोलीले दिएको थियो । यसले यो देशमा कांग्रेस नै मूल नेतृत्व हो भन्ने प्रस्ट पारेको छ ।
चिनियाँ नेता गुओले कांग्रेस नेतृत्वको सरकारका पालामा चीनसँग सम्बन्ध सधैं राम्रो भएको चर्चा गरेका थिए । ‘जुनसुकै परिवर्तन हुँदा पनि नेपाल चीन सम्बन्धमा परिवर्तन आउँदैन,’ गुओको भनाइ थियो।
हालै हुम्लामा भएको नेपाल चीन सीमा विवादबारे चिनियाँ मिडियाले कांग्रेसलाई लाञ्छना लगाउँदै लेख प्रकाशित गरेपछि कांग्रेस चीन नेतृत्वसँग रुष्ट थियो ।
सोही तिक्तता मेटाउन पनि चिनियाँ राष्ट्रपति सीले कांग्रेस सभापति देउवालाई चीन बोलाएको विश्लेषण गर्न थालिएको छ । यदि चीनसँग कांग्रेसको सम्बन्ध पहिले जस्तै बनेमा कम्युनिस्ट नेताहरूको राजनीतिक भविष्य संकटमा पर्ने देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।