काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपालमा हिन्दू धर्ममाथि योजनावद्ध आक्रमण भइरहेको जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अध्यक्ष थापाले सनातन धर्म संस्कृतिको रक्षा गर्न आह्वान गरेका छन् ।
‘कुनै धर्मप्रति मेरो वैमनस्यता र विरोध छैन । सबै धर्मप्रति मेरो सम्मान छ । तर विक्रम संवत् २००७ सालमा २ दर्जन क्रिस्चियन भएको नेपालमा लोभलालच र भ्रम सिर्जना गरेर तथा योजनावद्ध र संगठित रूपमा भइरहेको धर्मपरिवर्तनको परिणामस्वरूप अहिले करीब ४० लाख पुगेको छ । हाम्रो गौरवशाली सनातन धर्म र सभ्यतामाथिको यो आक्रमणले असह्य पीडा हुन्छ । के तपाईको मन दुख्दैन ?’ उनले लेखेका छन्, ‘धर्म परिवर्तनको निशानामा सबैभन्दा बढी आदिवासी, जनजाति र दलित समुदाय परेका छन् । पहिचानको रक्षा गरौं भन्ने कथित छद्मभेषीहरू आदिवासी, जनजाति र दलित समुदायको पहिचान मेटाउने षड्यन्त्रका मतियार हुन् । यिनले विदेशीले दिने डलरसँग राष्ट्रको पहिचान र गौरव बेच्ने गद्दारी गरिरहेका छन् । सनातन धर्म संस्कृतिको रक्षा गरौं ।’
पछिल्ला केही महिनायता देशमा राजतन्त्र र हिन्दूराष्ट्र पक्षधरको सक्रियता बढेको छ । जसमा कमल थापा नेतृत्वको राप्रपाले अगुवाइ गर्न खोजिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।