काठमाडौं - नेकपामा देखिएको पछिल्लो पटकको राजनीतिक दृश्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली दुवैले एकैपटक आफ्नो साख गुमाएका छन् ।
कुर्सीमा टिक्न ओलीले कतिसम्म गर्दा रहेछन् भन्ने देखिएको छ । संसद्मा झन्डै दुई तिहाइ बहुमत भएरपनि नेपाल कम्युनिस्ट पार्टी सत्ता चलाउन सर्वथा अयोग्य सावित भएको छ ।
पार्टी एकताको ‘ऐतिहासिक महत्त्व’ को कुनै पनि लाज बाँकी नरहने गरी नेकपा शीर्ष नेताहरूले यसको प्रतिष्ठा धुलोमा मिलाएका छन् । यसमा ओलीसँगै प्रचण्ड पनि सामेल छन् ।
केपी ओलीले त सत्तामा बस्ने नैतिक वैधता सम्पूर्ण रूपमा गुमाएका छन् । स्वेच्छाचारिताका सबै सीमाहरू नाघेर अब पनि जनादेश आफूसँग रहेको दावा गर्नु अनैतिक हुने विश्लेषण गर्न थालिएको छ ।
ओली–भण्डारीहरू सधैँ शक्तिकै रहन्छन् भन्ने कुनै ग्यारेन्टी छैन । उनीहरूले आफ्नो पालामा विधिको शासनको सख्त खिल्ली उडाएका छन् । तिनले आफ्नै बहुमत रहेको सम्मानित संसद्को ढोकामा ताल्चा झुन्ड्याएर नयाँ दरबारको खोपीभित्र मनलाग्दी अराजनीति गरेका छन् ।
मदन भण्डारीको नाम लिएर नथाक्ने उनीहरूसँग न लोकतन्त्रको गफ दिने हैसियत बाँकी छ, न जनताको बहुदलीय जनवादको । आफ्नै पार्टीका सांसदले दिएको हस्ताक्षरसहितको निवेदन दर्ता गर्न नदिनुले विद्यादेवी भण्डारीलाई केपी ओलीले किन मरिहत्ते गरेर राष्ट्रपति बनाएका रहेछन् भन्ने पुष्टि भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।