खोटाङ- सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धि अध्यादेशलाई तत्काल फिर्ता गर्न माग गर्दै नेपाल विद्यार्थी संघ खोटाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
संघले बुधबार बिहान १० बजे दिक्तेलबजारमा भण्डारी र ओलीको पुत्ला दहन गरेको हो । प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलले संसद बैठकको माग गरिरहेको बेला महिनौ देखी संसदलाई बन्धक बनाउँदै उप सभामुख जस्तो गरिमामय पद खाली राखेर प्रधानमन्त्रीले आफ्नो स्वैच्छाचारी तरिकाले संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएकोले उक्त अध्यादेश फिर्ताको माग गर्दै पुत्ला दहन गरिएको नेविसंघका जिल्ला अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिए ।
संसदीय मुल्य मान्यता बोकेका मुलुकले सबै समस्याको सामाधान संसदबाट नै खोज्नुपर्छ भन्ने मान्यता नेविसंघले राखेको छ बस्नेतले भने । “अध्यादेश अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावना विपरित छ, लोकतन्त्रको प्राण अध्यादेश र सर्वसत्तावादी प्रवृत्तिले बच्दैन” उनले भने ।
सम्माननीय राष्ट्रपतिज्यूको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको सचिवालय तथा कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएकोले राष्ट्रपति र प्रधानमन्त्रीको बैधानिक तवरले विकल्प खोजी गरि मुलुकमा सुशासन कायम गराउन तर्फ सबै लाग्नुपर्ने उनको भनाई छ ।
“लोकतान्त्रिक पद्धतिलाई क्रमश नामेट गरि सत्ताको घिनलाग्दो अभीष्ट पूरा गर्ने विद्या र ओलिको प्रयासलाई कदापी पनि पूरा हुन दिदैनौं ।” बस्नेतले भने ।
राणा र पञ्चायतको विरुद्ध अघिल्लो पुस्ताले लडेर ल्याएको आजको व्यवस्था कम्युनिष्ट सरकारको निरंकुश पञ्जाबाट जोगाउनका लागि आजको हाम्रो पुस्ताको आवश्यकता रहेको उनले जिकीर गरे ।
नेविसंघ सभापति बस्नेतको नेतृत्वमा भएको पुतला दहनमा नेविसंघका पदाधिकारी तथा जिल्ला समितिका सदस्यहरुको उपस्थिति थियो । विपी स्मृति भवनबाट नाराजुलुस सहित निस्किएको नेविसंघ टोलिले दिक्तेलबजारको केन्द्रभाग बेशक्याम्पमा पुतला दहन र कोणसभा गरेको थियो ।
संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएकोले सरकारले अहिले चौतर्फी विरोध खेपीरहेको छ । यस्तै प्रकृतिको अध्यादेश सरकारले गत बैशाख ८ गते राष्ट्रपतिबाट जारि गराएर चौतर्फी विरोध पश्चात चार दिन पछि फिर्ता गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।