काठमाडौं – निजामती कर्मचारीलाई कति बिदा दिने भन्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने काम गृहको हो । त्यससम्बन्धी अध्ययन गर्ने जिम्मेवारी सामान्य प्रशासन मन्त्रालयको भए पनि पर्यटन मन्त्रालयले विभागीय कार्यक्षेत्र कुल्चेर निजामती कर्मचारीलाई हप्तामा २ दिन बिदा दिने प्रस्ताव अघि सारेको छ ।
पर्यटन मन्त्रालयका प्रवक्ता कमल भट्टराईको संयोजकत्वमा अध्ययन समिति गठन गरेर २ दिन बिदा दिने प्रारम्भिक मस्यौदा नै सार्वजनिक गरेको छ ।
मस्यौदामा २ दिन बिदा दिएमा राज्यको १ अर्ब ६५ करोड रुपैयाँ बचत हुने, लैगिंक समानता कायम हुने, आन्तरिक पर्यटन वृद्धि हुने, परिवारमा मिलन आउने जस्ता तर्क गरिएको छ ।
तर पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको माझमा लोकप्रिय हुन गृह र सामान्यको अधिकार कुल्चेर पर्यटनले कार्यदल बनाएको बताउँदै भने, ‘त्यस्तो हो भने किन २ दिन मात्र बिदा दिने ? ७ दिन नै बिदा दिऔं । झन् लोकप्रिय हुन्छौं ।’
अनुपयुक्त ठाउँबाट, अनपयुक्त समयमा र अनुपक्त किसिमबाट पर्यटनले कार्यदल बनाएको उनले बताए । हप्तामा २ दिन बिदा दिने पद्धति यसअघि २०५६ सालमा प्रयोग गरिएको थियो । तर यो प्रयोग अव्यावहारिक देखियो र धेरै लामो मसयसम्म टिक्न सकेन । २० वर्षअघि नै नेपालमा अव्यावहारिक र असफल भएको प्रयोग फेरि दोहोर्याउन नहुने विज्ञहरूको भनाइ छ । ‘एकपटक असफल भइसकेको प्रयोग फेरि किन दोहोर्याउने ?’ पण्डितले भने ।
हप्तामा २ दिन बिदा दिनेसम्बन्धी कार्यदल बनेको र कार्यदलले मस्यौदा समेत सार्वजनिक गरेको विषयमा सामान्यका उच्च कर्मचारीहरू अनविज्ञता प्रकट गर्छन् । सामान्य मन्त्रालयका सचिव एकनारायण अर्यालले यसबारेमा मन्त्रालयलाई औपचारिक जानकारी नभएको बताए ।
‘यस विषयमा मन्त्रालयलमा औपचारिक जानकारी छैन । न त यस विषयमा सामान्यले अहिलेसम्म सहमति नै दिएको छ,’ अर्यालले भने । तर पर्यटन मन्त्रालयका प्रवक्ता तथा हप्तामा २ दिन बिदा दिनेसम्बन्धी गठन गरिएको अध्ययन टोलीका संयोजक कमल भट्टराईले हप्तामा २ दिन बिदा दिए राज्यको १ अर्ब ६५ करोड रुपैयाँ बचत हुने भन्दै यस्तो प्रयोग नेपालमा गर्नुपर्ने अडान राखेका छन् ।
‘निजामती कर्मचारीलाई बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने काम गृहको भए पनि हामीले आवश्यक ठान्यौं भने हामीले तयार गरेको प्रस्ताव गृहमा पठाउन सक्छौं,’ भट्टराईले भने । प्रवक्ता भट्टराई पर्यटनमन्त्री योगेश भट्टराई निकट मानिन्छन् । पर्यटन मन्त्रालय स्रोतका अनुसार पर्यटनमन्त्रीको व्यक्तिगत चाहनामा यस्तो कार्यदल गठन गरिएको तथा उनकै चाहनामा कमललाई कार्यदलको संयोजक बनाइएको हो ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले मजदुरका लागि हप्तामा ४० घण्टा काम गर्ने मापदण्ड बनाएको छ । तर हप्तामा २ दिन बिदा दिने हो भने आईएलओले बनाएको मापदण्डभन्दा मजदुरले काम गर्ने समय कम हुने विज्ञहरूको भनाइ छ । अहिले लागू भएको बिदा प्रणालीअनुसार निजामती कर्मचारीले हप्तामा ४० घण्टा काम गर्छन् ।
पर्यटनले बनाएको मस्यौदामा विश्वका कयांै देशमा हप्तामा २ दिन सार्वजनिक बिदाको अभ्यास हुँदै आएको बताउँदै हप्तामा २ दिन बिदा दिन सम्भव रहेको निष्कर्ष निकालिएको छ । समितिमा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेव घिमिरे, अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका प्रतिनिधि पनि छन् ।
हप्तामा २ दिन बिदा कायम गर्दा कर्मचारी, कार्यालय र संस्थाहरूको उत्पादकत्व वृद्धि हुने, सरकारी खर्च कटौती हुने, कोरोना भाईरसका कारण हाल थला परेको पर्यटन प्रवर्दनमा सहयोग पुग्ने, र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम हुने, पारिवारिक सामिप्यता कायम हुने, पर्यावरणीय दृष्टिले सकारात्मक प्रभाव पर्नसक्ने समितिको निष्कर्ष छ ।
हाल विश्वका ८८ भन्दा बढी मुलुकमा सातामा २ दिन बिदा दिने प्रचलन रहेको समितिले जनाएको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।